मुगु । हिमाली जिल्ला मुगुमा सुपथ मुल्यको पसल माघ २ गते सम्म सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले दशैँ तिहारलाई लक्षित गर्दै २१ असोजदेखि ३ मंसिरसम्म गमगढी शाखा कार्यालयमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको थियो ।
कम्पनीले कर्णालीसहित विशेष गरेर मुगुका नागरिकहरुको सास्तीलाई मध्येनजर गर्दै केही राहत होस् भनि मुगुमा सुपथ मूल्यको पसललाई निरन्तरता दिइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार यस कम्पनीले मुगुका लागि स्वीकृत सहुलियत कोटा समाप्त भएको र कम्पनीको बिक्री वितरण विभागबाट सहुलियत अवधि २०८० मंसिर २४ गते देखि माघ २ गतेसम्म थप गर्ने पत्राचार बमोजिम शाखा कार्यालय गमगढी बजारमा एक
हजार क्विन्टल स्टिम जिरा मसिनो चामल जिल्लाका लागि सुपथ कोटा स्वीकृतीका लागि माग गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख पुस्कर भामले बताए ।
मुगुमा पुन मंसिर २४ गते आइतबारदेखि माघ २ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन हुने भएको छ । कार्यालयले दशैँ तिहारमा १ हजार ५ सय क्विन्टल चामल सात रुपैयामा छुट दिई बिक्री वितरण गरेको थियो ।


































































































































































