काठमाडौं । स्वास्थ्य सेवातर्फ संघ प्रदेश तथा स्थानीय तहले गर्ने पदपूर्तिमा उमेर हद फरक-फरक भएको विषयमा नेपाल चिकित्सक संघले एक रूपता कायम गर्न माग गर्दै लोकसेवा आयोगको ध्यानाकर्षण गराएको छ। बिहीबार संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा गएको टोलीले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई भेटी ज्ञापनपत्र बुझाएको हो।
‘स्वास्थ्य सेवा ऐन २०५३ को परिच्छेद (३)को पदपूर्ति सम्वन्धी दफा १२ को उपदफा (ग) अनुसार सेवा प्रवेशको उमेर ४५ बर्ष कायम हुन आउँछ । अहिले संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ ले पनि स्वास्थ्य सेवा ऐन २०५३ को व्यवस्थालाई टेकेको छ ।तर, प्रदेश तहमा लिईने पदपूर्ति प्रक्रियामा पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर हद कायम गरिएको छ । यस्तो गर्न भएन । संघीय कानूनसंग बाँझिने गरी प्रदेश कानुन लागू हुन सक्दैन । त्यसैले एक रुपता कायम गरौँ भन्नका लागि गएका थियौँ,’ संघका अध्यक्ष डा कार्कीले भने।
उनले अब प्रदेश लोक सेवा आयोगमा पनि स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीको उमेर हदका विषयमा एक रुपता कायम गर्ने र स्वास्थ्य सेवा ऐन बमोजिम उमेर हद ४५ बर्ष कायम गर्ने विषयमा ध्यानाकर्षण गराउने बताए। पछिल्लो समय प्रदेश लोकसेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद स्वास्थ्यमा पनि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० तोकेको छ।


































































































































































