अमेरिका पठाउने प्रलोभनमा पारी १० लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्त रहेका छन्। उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

 

 

पन्तले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ।

 

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बर्दघाटसँग समन्वय गरी उनलाई नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगरबाट पक्राउ गरेको हो।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१