 
                        माेरङ । सामुदायिक वनको अधिकार खोसेको भन्दै अभियान्ताहरू अाक्रोशित बनेका छन् ।वनकर्मीहरूले मंगलबार पूर्वपश्चिम एसियन हाइवेको पश्चिम खण्ड मावा खोला–लोकही खण्डमा पर्ने रुख कटानको काम रोकेका छन् ।सामुदायिक वन क्षेत्रमा पर्ने रुख सामुदायिक वनलाई नै उपयोग गर्न दिने सहमति विपरित डिभिजन वनले आफैले रुख लगेको भन्दै आक्रोसित बनेका बनकर्मीहरूको समुहले पथरीशनिश्चरे- १० मा पर्ने पशुपति सामुदायिक वन क्षेत्रबाट रुख काट्ने आरा (चेन्सो) र ट्याक्टर नियन्त्रणमा लिएका थिए । आयोजनाका कर्मचारीहरूले सहमति नभएसम्म काम नगर्ने प्रतिबद्धता गरेपछि नियन्त्रणमा लिएको सामान फिर्ता गरेका छन् ।
आयोजनाको पश्चिम खण्डमा उर्लाबारी देखि बेलबारीसम्म १८ वटा सामुदायिक वन पर्छन् । सामुदायिक वनलाई कुनैपनि जानकारी नदिइ रुख कटान थाले पछि काम रोक्न बाध्य भएको सामुदायिक वन उपभोक्ता महासंग कोशी प्रदेश अध्यक्ष तुलशी निरौलाले बताए । यस क्षेत्रमा ५ हजार ६ सय हाराहारी रुख बिरुवा कटान हुनेछन्, जसमध्ये सामुदायिक वन क्षेत्रमा पर्ने रुख बिरुवा निशर्त सामुदायिक वनलाई नै दिनुपर्ने संग्रौलाको भनाइ छ ।
सडक ऐनले सामुदायिक वनको स्वामित्वमा रहने देखाएको, संघीय वन ऐनले परियोजना लागू भए पछि हस्तान्तरण भएको वन भए सराकार मातहतमा र परियोजना अघि नै हस्तान्तरण भएको वन भए सामुदायिक वनको स्वामित्वमा रहने उल्लेख गरेको सामुदायिक वन उपभोक्ता महासंग कोशी प्रदेश सदस्य अग्नी पौडेलले बताए । सामुदायिक वन हस्तान्तरण हुनु अघि दुई लेन रहेको र हालको एसियन हाइवेको परियोजना नयाँ भएकाले पनि काठको स्वामित्वमा सामुदायिक वनको हक रहेको पौडेलको जिकिर छ ।
जिल्ला वन देखि प्रदेश वन मन्त्रालय र एसियन हाइवे परियोजना कार्यालय इटहरीसम्म लिखित पत्र बुझाउदा, छलफल गर्दा पनि बेवास्ता गरेपछि रुख काट्ने आरा नै खोस्नु पर्ने बाध्यता परेको सामुदायिक वन उपभोक्ता महासंग कोशी प्रदेश महासचिव रेनुका दाहालले बताइन् ।
सामुदायिक वन परियोजना बिचको लडाइ नभएकाले काम नरोक्न निर्माण कम्पनी सि.आर.एफ.जी टुण्डीका लेखापाल आवाज ढकालले अनुरोध गरे । सरकार सामुदायिक वन बिचको समस्या भएकाले परियोजनालाई असर पर्ने काम नगर्न र समयमा काम सक्न दिन ढकालको अनुरोध थियो ।
प्रभावित क्षेत्रमा सामुदायिक वनहरू मध्येबाट डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेलको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको छ । आजैदेखि अनुगमन समितिले रुख कटानलाई रोक्ने काम सुरु गरेको पोख्रेलले जानकारी दिए । परियोजनाले गत बुधबार देखि रुख कटानको काम थालेको थियो । रुख कटान उद्घाटन गर्न प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती आफै उपस्थित थिए ।
‘एसियन हाइवे’ समयमै निर्माण गर्न प्रदेश सरकारले बाधा अड्चनहरूमा सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए थिए । ‘एसियन हाइवे’ गौरवको योजना भएको उल्लेख गर्दै उनले कुनै पनि बहानामा निर्माण कार्य रोकिन नहुने बताएको हप्ता दिन नपुग्दै रुख कटानमा अवरोध सिर्जना भएको हो ।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































