धनगढी एयरपोर्टमा उपसचिव आचार्यको ताण्डव, नशाको तालमा सीडीओ माथि अश्लिल शब्द प्रयोग

कैलाली। मादक पदार्थ सेवन(मापसे) गरेर कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलमा अमिल्दो हर्कत देखाएका छन् ।

 

बुद्व एयरलाइन्सको दिउँसो २ :५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो । बुद्व एयरलाइन्सले आचार्यलाई मदिराको नसा उत्रिएपछि साँझ ५ः५५ को फ्लाइटमा सिफ्ट गरेर फर्काएको थियो ।

 

एयरलाइन्सले फर्काएको झोकमा मदिराको तालमा आचार्यले विमानस्थलबाटै टेलिफोन गरि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए ।

 

मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर तथानाम आरोप लगाउँदै प्रजिअ मिश्रलाई धम्क्याएपछि उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले मदिराको तालमा भेटाएपछि उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले बताए ।

 

प्रमुख जिल्ला अधिकारीसँगै माफी मागेपछि आचार्यलाई सम्झाई बुझाई छाडिएको एसपी बिष्टले बताए । मदिरा सेवन गरेर विमानस्थलमा ताण्डव देखाउँदै प्रमुख जिल्ला अधिकारीलाई धम्क्याउने आचार्यसँग यो विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले फोन नउठाएर काटिदिए ।

 

अचार्य यसअघि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका बेला समेत विवादमा आउने गरेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?