काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन । “धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइ दिनुहोला,”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीका अनुसार खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।  यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोडसमेत दिएका छन । 
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































