कैलाली। चिसापानी–कुइने सडक निर्माणको माग गर्दै कैलालीका एक युवाले चिसापानी पुलमा अनशन थालेका छन्।
स्थानीय नेत्र भण्डारीले पुलमाथि सुतेर अनशन थालेका हुन्। दुई वर्ष अगाडि नै ठेक्का सम्झौता भएको यो सडक निर्माणमा ढिलाइ भइरहेको छ। मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि वन विभागले रुख कटानको आदेश नदिएपछि सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन। आउँदो असारमा ठेक्काको समायवधि सकिँदै छ।
७.२ किलोमिटरमा कालोपत्रे सडक निर्माणका लागि २०७९ साउन ३ गते ठेक्का भएको थियो। तर रुख कटानको आदेश नआउँदा काम अगाडि बढ्न नसकेको सडक डिभिजन कार्यालयका साइट इन्जिनियर चित्र चौलागाईको भनाइ छ। सडक कालोपत्रे गर्ने खण्डमा ४७२ वटा रुख छन्। १२ करोड ८० लाख रुपियाँमा दिव्यज्योती–शाही जेभीले सडक निर्माणको ठेक्का पाएको छ। मन्त्रिपरिषद्ले रुख कटान आदेशका लागि निर्णय गरिसक्दासम्म वन विभागले अटेर गरेर विकासको काम रोकिरहेको अनशन थाल्नु भएका युवा भण्डारीको आरोप छ। रुख कटानको आदेश आउने वित्तिकै आन्दोलन रोक्ने उनको भनाइ छ। सरकारको विकास निर्माणमा सघाउ पुर्याउन आफ्नो अनशन रहेको भण्डारीले उल्लेख गरे।
































































































































































