भोजपुर, बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो । यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा र पाँचधारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीय र पर्यटकले आवतजावतमा समस्या भोग्दै आएका थिए ।
सडकलाई मर्मत पश्चात यातायात सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी बताउनुभयो । यो पर्यटकीय सडक मार्ग भएकाले गाउँपालिकाले प्राथमिकता साथ मर्मतको काम गरेको उहाँको भनाइ छ ।चखेवाबाट पाँचधारेसम्म यो सडकको लम्बाई करिव नौ किलोमिटर रहेको छ । गाउँपालिकाभित्रका अन्य सडकको पनि मर्मत भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । अवरोध सडक पुनः सञ्चालनमा आएपछि सामग्री ढुवानी, व्यापार–व्यवसाय र दैनिक आवतजावतमा सहज भएको स्थानीयबासीको भनाइ छ । राष्ट्रिय समाचार समिति (रासस)





























































































































































