कर्णाली, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले) ले गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजको अवस्था सामान्य छैन । संविधानमाथि आक्रमण भइरहेको छ । यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ ।” उहाँले पार्टी केन्द्रको निर्देशन पर्खिनु नपर्ने बताउँदै सिर्जनात्मकरुपमा जनताबीच पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

























































































































































