मुस्ताङ, घरपझोङ–३ स्याङस्थित ऐतिहासिक ‘घैलुङ’ गुफा ओझेलमा परेको छ । तत्कालीन समयमा लामा गुरुले ध्यान गरेर बस्ने भनिएको सो गुफा आवश्यक प्रचार÷प्रसार हुन नसक्दा ओझेलमा परेको हो । मुस्ताङ सदरमुकाम जोमसोम र स्याङ गाउँ नजिकै स्याङ खोलाको अग्लो पहाडमा अवस्थित घैलुङ गुफामा लामाले ध्यान साधना गर्ने गरेको स्याङ गाउँकी पूर्वआमा समूहकी अध्यक्ष सनदेवी थकालीले जानकारी दिनुभयो ।
पछिल्लो सयम यहाँको घैलुङ गुफामा लामाले ध्यान गर्ने प्रचलन हराउँदै जान थालेको समूहका पूर्वअध्यक्ष थकालीले उल्लेख गर्नुभयो । “यहाँ पहिलो लामाले ध्यान (छम) बस्ने चलन थियो, दुई वर्षअघि पनि सिक्किमबाट लामा आएर ध्यान गरेर गएका थिए,’ ” समूहका पूर्वअध्यक्ष थकालीले थप्नुभयो, “अचेल त स्याङ गाउँभित्रकै आनी गुम्बामा ध्यान गर्न थालेपछि घैलुङ गुफा गुमनाम बनेको छ ।”
यहाँको घैलुङ गुफा स्याङ खोलाको पक्की पुल नजिकैबाट पञ्चिमतर्फ बगरै बगर पैदल यात्रा गरेर २५ मिनेट पुग्न सकिन्छ । तर सदरमुकाम नजिकै भएरपनि यहाँको गुफालाई पर्यटन प्रर्वद्धन गर्न नसक्दा घैलुङ गुफा ओझेलमा परेको समूहका पूर्व अध्यक्ष थकालीको भनाइ छ । मुस्ताङमा वर्षेनि आठ लाख बढी पर्यटक भित्रिदा स्याङ गाउँ नजिकै रहेको घैलुङ गुफा ओझेलमा परेको पूर्वअध्यक्ष थकालीको भनाइ छ ।
परापूर्व कालमा यहाँका बौद्धधर्म अनुयायी लामाले बौद्ध शिक्षा हाँसिल गर्न गुफा र ओढारमा कसैले नदेख्ने गरी दुई÷तीन वर्षसम्म ध्यान गरेर बस्ने गरेका जनाइको छ । यसकार्यलाई स्थानीय भाषामा (छम) बस्ने भन्ने गरिएको छ । यहाँको घैलुङ गुफामा तीन वटा कोठा छन् । लामाले ध्यान गर्दा आवश्यक पर्ने पूजा कोठा, भान्छा कोठार र पकाएर खाने किचन कोठा रहेको समूहका पूर्वअध्यक्ष थकालीले बताउनुभयो । गुफामा अझै पनि पूजाका सामग्री र पकाएर खाने सामान रहेका छन् । गुफाको पूजाका कोठामा लुङ्ता झुन्ड्याएका छन् ।
घरपझोङ–३ स्याङ गाउँको अधिनमा रहेको यहाँको घैलुङ गुफाको संरक्षण स्थानीय जनकल्याण युवाक्लव, गाउँ र आमा समूहलगायतले रेखदेख गर्ने गरिएको छ । गुफाको बाहिरी परिसरमा रातो माटोले रङ्ग्याइएर आकर्षक तुल्याएको छ । पछिल्लो समय स्याङ गुफा तलको खोलाको डिलबाट गुफासम्म रेलिङसहितको सिंढी बाटोसमेत निर्माण गरिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































