गलकोट (बागलुङ), बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ । साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालिएको हो । नगरपालिका–४ उपल्लाचौरको आर्मी ब्यारेकदेखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र गर्न थालेको छ भने वडा नं ६ स्थित चसेपानीमा सडक ढलान गरिरहेको छ ।
यस्तै, नगरपालिकाले बागलुङ बजारको हल्लनचोकदेखि बुद्धविहार चोकसम्मको सडक कालोपत्र, ट्राफिक कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्मको सडक कालोपत्र र देउरालीचोकसम्मको सडक ढलान गर्ने तयारी थालिएको छ । यस्तै, नगरपालिकाले बागलुङ बजारका सबै खाल्डाखुल्डी पुर्नका लागि सडक कालोपत्र गर्ने कामसँगै अघि बढाएको नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो ।
नगरपालिकाले रु एक करोड आठ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रका खाल्डाखुल्डी मर्मत गर्ने र पाँच वटा साना सडक छुट्टाछुट्टै सडक कालोपत्र तथा ढलान गर्न थालेको हो । विसं २०८२ वैशाखमा लीला निर्माण सेवासँग नगरपालिकाले यही कात्तिक मसान्तभित्र कालोपत्र र ढलान सक्नेगरी सम्झौता गरिएको थियो ।
असारअघि नै कालोपत्रको तयारी थाले पनि वर्षाका कारण रोकिएको थियो । कालोपत्र उप्किएर बागलुङ बजारका विभिन्न सडकमा खाल्डाखुल्डी परेकाले यही ठेक्कामार्फत खाल्डाखुल्डीमा कालोपत्र गर्ने कार्य गरिनेछ । नगरपालिकाले बजार क्षेत्रमा बर्सेनि रु एक करोड माथिको लागतमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्दै आएको भए पनि नाली साँघुरो हुँदा बर्खामा सडक बिग्रने गरेको छ । नगरपालिकाले बागलुङ बजारमा आउने भल निकासीका लागि रातमाटादेखि नै यही वर्षमा काम गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)


































































































































































