गण्डकी, गण्डकी प्रदेश सङ्ग्रहालयमा निर्माणाधीन मौलिक (कोसेली) घरको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने गरी पोखरा महानगरपालिका–९ नयाँबजारस्थित गण्डकी प्रदेश सङ्ग्रहालय परिसरमा निर्माणाधीन कोसेली घरको एक कार्यक्रमबीच आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस भवनले प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै मौलिक घर निर्माणपछि प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्ने बताउनुभयो । प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको उहाँले बताउनुभयो ।
प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीयस्तरको सहयोग अपरिहार्य हुने बताउनुुभयो । गण्डकी प्रदेश प्राकृतिक सुन्दरता, जातीय विविधता र सांस्कृतिक समृद्धिको केन्द्र भएको र यस प्रदेशमा पाइने मौलिक संस्कृति आधुनिक प्रभावका कारण लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, अध्ययन तथा प्रदर्शन नै सङ्ग्रहालयको प्रमुख उद्देश्य भएको उहाँको भनाइ थियो ।
कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउने उल्लेख गदै मन्त्री थापाले लोपोन्मुख कला र शैलीको जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला तथा जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको जानकारी दिनुुभयो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजनाअन्तर्गत सञ्चालित परियोजनाको कुल लागत रु दुई करोड ८३ लाख रहेको जानकारी दिनुुभयो । कोसेली घर आगामी असार मसान्तसम्म निर्माण गर्ने सम्झौता भएको छ । कार्यक्रममा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, सङ्ग्रहालयका प्रमुख करुणा राईलगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय समाचार समिति (रासस)





























































































































































