तुलसीपुर (दाङ), नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु सात हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको यहाँस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार हाल टरिगाउँबाट हप्तामा चार दिन उडान भइरहेको छ ।
आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान भइरहेको जनाउँदै उहाँले यात्रुको सङ्ख्या भने न्यून हुने गरेको छ । दैनिक चार–पाँच जनाभन्दा बढी यात्रु नहुने गरेको उहाँले बताउनुभयो । कात्तिकसम्म यात्रुको सङ्ख्या हुने गरे पनि अहिले यात्रु न्यून हुने गरेका प्रमुख सुनारले उल्लेख गर्नुभयो । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटकोसमेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने समस्याले यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटरको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल विसं २०११ मा स्थापना भएको हो । राष्ट्रिय समाचार समिति (रासस)

























































































































































