दाङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको पाँच हजार क्विन्टल धान खरिद गरेको छ । कार्यालय प्रमुख तुलमाया लोवाले दिनुभएको जानकारीअनुसार लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद गरिएको हो ।
उक्त धान रु एक करोड ४४ लाख ८९ हजार ८०० मा खरिद गरिएको उहाँले जानकारी दिनुभयो । गढवाबाट दुई हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट एक हजार ५०० क्विन्टल धान खरिद गर्ने कार्यालय र पालिकाबीच भएको सहमतिअनुसार धान खरिद गरिएको कार्यालयले जनाएको छ ।
सरकारले निर्धारण गरेको धानको मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँका दरले मोटो धान किसानबाट खरिद गरिएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना कृषकबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने भनिए तापनि धेरै किसानलाई समेट्नेगरी १५ देखि २० क्विन्टल प्रतिकिसानका दरले धान गरिद गरिएको हो ।
गत वर्ष खाद्यले जिल्लाबाट आठ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो । तर गत वर्ष लक्ष्यअनुसार धान खरिद हुन नसक्दा यस वर्ष केन्द्रबाट धान खरिदको कोटा घटेको छ ।यसैबीच, दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































