कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर विश्वकर्मा रहनु भएको थियो।
सभामा सशस्त्र प्रहरी बल बौनियाका प्रमुख सुबाश केसी, इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख डम्बर विष्ट, वडा सदस्य तथा न्यायिक समिति सदस्य वसन्ती साउद, वडा सदस्य रामबहादुर चौधरी, दलित महिला सदस्य भावना देवी विश्वकर्मा, न्यू ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर विश्वकर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष पदम तिरुवा, दानुवा फाटा सामुदायिक वनका उपाध्यक्ष नन्दाराम विष्ट, एनटिबीएस इंग्लिश बोर्डिङ स्कुलका संस्थापक नवराज टमटा, समाजसेवी दलबहादुर तिरुवा र वसन्त मुरारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य पदम बोक्टानी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष भीमबहादुर बुढाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। लेखा समिति संयोजक नवराज टमटाले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै कुल २६ लाख ७६ हजार ७ सय ७५ रुपैयाँ आय र २५ लाख २ हजार १ सय २० रुपैयाँ ५१ पैसा व्यय भएको जानकारी दिनुभयो। हाल समूहको बैंक मौज्दात ६ लाख १० हजार ४ सय ४५ रुपैयाँ रहेको छ।
कार्यक्रमको सञ्चालन उपभोक्ता तथा वैज्ञानिक मिडियाका पत्रकार टीकाराम साउँदले गर्नुभएको थियो।





















































































































































