काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा तालिम आयोजना गरिएको हो ।
दिगो पर्यटन विकासका लागि खाद्य सुरक्षा र स्वच्छता विषयलाई केन्द्रमा राख्दै एसटिपीले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका होटल, रेष्टुरेन्टलाई खानपान सेवाको गुणस्तर वृद्धि गर्न पर्यटकको स्वास्थ्य, सन्तुष्टि र गन्तव्यप्रतिको विश्वास बढाउन तालिम सुरु गरेको परियोजनाका प्रबन्धक धर्मराज दवाडीले जानकारी दिनुभयो ।उहाँका अनुसार सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गर्न सकिएन भने त्यसले पर्यटकको स्वास्थ्यमा जोखिम मात्रै होइन, देशको पर्यटन क्षेत्रको छवि र विश्वसनीयतामाथि पनि गम्भीर असर पार्न सक्छ ।
“खाद्यन्यजन्य रोग, अस्वच्छ भान्सा, गलत भण्डारण तथा तयारी प्रक्रियाले हुने समस्या पर्यटन क्षेत्रमा दीर्घकालीन नोक्सानीका कारण बन्न सक्छन् । त्यसैले बाह्य पर्यटक आकर्षित गर्न र उहाँहरूको बसाइँ अवधि लम्ब्याउन खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नु अपरिहार्य छ । स्वच्छता र सुरक्षाका मापदण्ड पालना गर्ने व्यवस्था भएमा पर्यटकले सुरक्षित, जिम्मेवार र गुणस्तरीय गन्तव्यका रूपमा लिन्छन्, जसले पुनः भ्रमण र सकारात्मक प्रचारमासमेत योगदान पु¥याउँछ”, उहाँले भन्नुभयो ।
खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम र सचेतना कार्यक्रम प्राविधिक अभ्यास मात्र नभई नेपालको पर्यटनलाई दीर्घकालीन, विश्वासिलो र प्रतिस्पर्धी बनाउने रणनीतिक लगानीका रूपमा लिनुपर्ने परियोजना प्रबन्धक दवाडीले उल्लेख गर्नुभयो । यस्ता पहलले नेपाललाई सुरक्षित, जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खेल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
दुई दिने यो तालिम आजदेखि सुरु भएको हो । तालिममा रेष्टुरेन्ट सञ्चालक, व्यवस्थापन टोलीका सदस्य तथा सेफहरूको सहभागिता रहेको छ । तालिममा खाद्य सुरक्षा मापदण्ड, स्वच्छता अभ्यास, सुरक्षित खाना तयारी तथा पर्यटकमैत्री सेवा र गुणस्तरका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































