लुम्बिनी,लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा मुख्यमन्त्री आचार्यले आज दिनुभएको शुभकामना सन्देशमा ज्येष्ठ नागरिकले दिएको अनुभव, ज्ञान र योगदानकै कारण समाज अघि बढेको उल्लेख गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, हक र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रदेश सरकारले ज्येष्ठ नागरिकको निरोगितालाई ध्यानमा राख्दै घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिरहेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो ।
“ज्येष्ठ नागरिकका लागि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसबाट ज्येष्ठ नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै उपचार पाउन सहयोग पुगेको छ”, मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा उल्लेख छ ।
आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री आचार्यले बताउनुभएको छ । साथै उहाँले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































