कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया धार्मिक क्षेत्रमा यस वर्ष पनि माघी मेला आयोजना हुने भएको छ। हरेक वर्ष निरन्तर रूपमा लाग्दै आएको माघी मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक क्षेत्र विकास तथा संरक्षण मञ्चले जनाएको छ।
गाउँपालिकाको वडा नं. २ मा रहेको बर्दगोरिया धाममा आयोजना हुने मेलाको तयारीका विषयमा शुक्रबार सरोकारवाला पक्षबीच छलफल गरिएको छ। माघी पर्वको अवसरमा यही पुष २८ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने बताइएको छ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने भारतीय रामलिलासमेत प्रदर्शन गरिने भएको छ। मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार तथा पहिचानको संरक्षण गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बर्दगोरिया क्षेत्र विकास तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीले जानकारी दिए।
उनका अनुसार परापूर्वकालदेखि नै बर्दगोरिया धाममा माघ महिनामा ठूलो मेला लाग्ने गरेको छ। विशेषगरी थारु समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको माघी पर्वमा कैलालीका विभिन्न क्षेत्र, बर्दिया तथा भारतको तिकुनिया र शिंघाईबाट समेत भक्तजनहरू मेला भर्न आउने गर्दछन्। साथै, स्थानीय तथा बाह्य पर्यटकहरू पनि मेला अवलोकनका लागि आउने गरेको उनले बताए।
माघ १ गते थारु समुदायले माघी लहानका रूपमा बर्दगोरिया धार्मिक क्षेत्रमा रहेका ताल तथा पोखरीहरूमा स्नान गर्ने परम्परा रहेको छ। मेलाको माध्यमबाट बर्दगोरिया धाम, पुरैना ताल र पिरुवा पिकनिक स्थलजस्ता गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा टेवा पुग्ने संरक्षण मञ्चका सचिव नवीन ढुंगानाले जानकारी दिए।
उनका अनुसार परापूर्वकालदेखिको पौराणिक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, पिरुवा तथा पुरैना ताल, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वारा तथा झुलुङ्गे पुल पिकनिक स्थलको समेत मेलाको अवसरमा प्रचारप्रसार गरिनेछ।
मेलामा थारु समुदायका मौलिक परिकार, कला संस्कृति र मौखिक परम्परा झल्काउने भेषभूषासहितका झाँकी तथा पञ्चे बाजाको प्रदर्शन गरिने जनाइएको छ। हरेक वर्ष माघीका अवसरमा विभिन्न स्थानबाट भक्तजनहरू मेला भर्न तथा स्नान गर्न बर्दगोरिया आउने गर्दछन्।
बर्दगोरियामा माघीको दिन स्नान तथा पूजा गर्नाले वर्षभरिका पाप नाश हुने जनविश्वास रहेको छ। माघी मेलालाई सफल बनाउन आवश्यक सबै सहयोग गर्ने बर्दगोरिया गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गोविन्द विकले प्रतिबद्धता जनाएका छन्।
बर्दगोरियामा माघी मेलाका अतिरिक्त कार्तिक र मंसिरमा लवाङ्गी पूजा तथा केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा तथा भदौ महिनामा बोलबम कलश यात्रा आयोजना हुँदै आएको छ।
छलफल कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार, भलमानसा तथा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।


























































































































































