अर्घाखाँची, पर्यटकीयस्थल नरपानी पोखेडाँडामा होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।होमस्टेको माध्यमबाट पर्यटक आकर्षण गराउने तथा स्थानीय स्तरमै रोजगारीको सृजना गरी आत्मनिर्भर बनाउने गरी उक्त कार्यक्रमको आयोजना गरिएको घरेलुु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।घरेलुु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिका–६ को समन्वयमा २० दिने होमस्टे व्यवस्थापन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
होमस्टे व्यवस्थापन तालिममा नरपानी पोखेडाँडाका स्थानीय ५३ जनाको सहभागिता थियो । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय परिकार, अर्गानिक स्वाद तथा गाउँको न्यानो आतिथ्यताले पर्यटक आकर्षण गर्न आग्रह गर्नुभयो ।धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरी सञ्चालन हुने होमस्टे सफल बनाउन स्थानीयलाई आग्रह गर्दै नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले होमस्टे सञ्चालन गरी स्वरोजगार बन्न सकिने बताएका छन् । गाउँमै उत्पादन भएको स्थानीय परिकारलाई पाहुनाको स्वागतमा प्रयोग गर्न समेत आग्रह गर्नुभयो । बीस दिनसम्म चलेको तालिममा १५ दिन स्थानीय पाक शिक्षासम्बन्धी र पाँच दिन सास्कृतिक कार्यक्रम जसमा स्थानीय कला सस्कृति झल्किने नृत्यको तालिम प्रदान गरिएको वडा अध्यक्ष श्रृधर महत्राले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































