सुरुङ्गा (झापा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गर्नुभएको छ । जेनजी आन्दोलनबाट ठूला राजनीतिक दलले नेतृत्व गरेको सरकार ढलेकोतर्फ लक्ष्य गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
आज बिर्तामोडमा आयोजित जनजागरणसभामा उहाँले गत भदौ २४ गतेको घटनाले राज्य संयन्त्र कति कमजोर रहेछ भन्ने स्पष्ट पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो बेला हामीले भनेको कुरालाई बेवास्ता गरियो । अहिले हाम्रो कुरा नसुनेकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पश्चात्ताम गरिरहेका छन् ।”
राप्रपाको वैकल्पिक मार्ग प्रस्तुत गर्दै अध्यक्ष लिङ्देनले ऊर्जा, कृषि र पर्यटन क्षेत्रको विकासबाट देशको विकास गर्न सकिने बताउँदै हरेक नागरिक इमानदारीपूर्वक राष्ट्रका निम्ति लागिपरेमा पाँच वर्षमा मुलुक विकासको बाटोमा अग्रसर हुने विचार व्यक्त गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)



















































































































































