लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।
यस्तै उदाहरण हुन् कैलालीको लम्कीचुहाकी जानकी रावत थापा । केही समयदेखि उनले आफ्नै घरको भान्साबाट सेलरोटी र अचार तयार पार्दै मनग्य आम्दानी गर्दै आएकी छन् । फेसबुक र टिकटकमा राखिएका भिडियो हेरेर सेलरोटी र अचारका पारखीहरूले उनलाई सम्पर्क गर्छन् । अनि ग्राहकको मागअनुसारको सेलरोटी र अचार जानकीले भनेकै स्थानमा पुर्याउछिन् ।
सानैदेखि भान्साका पकवानप्रतिको रुचिलाई आज जानकीले व्यवसायमा रूपान्तरण गरेकी छन्, जसबाट आत्मसम्मानसहितको राम्रो आम्दानी गरिरहेकी छन् ।
सानैदेखि पकवान तयार गर्न रुचि राख्ने जानकी रावत थापा समयसँगै आफ्नै पाककलामा निपुण बन्दै गइन् । सीपमा आत्मविश्वास बढ्दै गएपछि उनले आफूले तयार पारेका सेलरोटी र अचारका भिडियो सामग्री फेसबुक र टिकटकमा राख्न सुरु गरिन् । हेर्दै खाउँ–खाउँ लाग्ने सेलरोटी सामाजिक सञ्जालमा देखिन थालेपछि जानकीलाई अर्डर आउन सुरु भयो । उनको अचारबाट सुरु भएको सानो यात्राले विस्तारै सेलरोटीसम्मको व्यावसायिक रूप लियो ।
यो यात्रामा जानकीलाई श्रीमान् मोहन थापाको पनि बलियो साथ छ । त्यसैले त जानकी रावत थापाले ग्राहकको मागअनुसारको सेलरोटी र अचार भनेकै स्थानमा पु¥याउन सकेकी छन् । बिना रोकावट व्यवसाय सञ्चालन गर्न सफल जानकीका अनुसार, श्रीमान–श्रीमती एक रथका दुई पाङ्ग्रा जस्तै हुन् । आफू सफल महिला बन्नुमा श्रीमानको ठूलो भूमिका रहेको उनी खुलेर स्वीकार गर्छिन् ।
जानकीले जसरी सफलतापूर्वक व्यवसायलाई सम्हालिरहेकी छन्, त्यसरी नै घरपरिवारलाई पनि सम्हालिरहेकी छन् । व्यवसायको स्वाद जोगाइराख्न र परिवारका सदस्यलाई समय दिन उनको दिन बिहान ४ बजेदेखि सुरु हुन्छ ।
आफ्नो रुचिअनुसारको काममा श्रीमानको साथबाट तयार पारिएका जानकीका सेलरोटी र अचार आज देशमा मात्रै सीमित छैनन्, विदेशसम्म पुगेका छन् ।
घरको भान्सालाई व्यवसायको माध्यम बनाएकी जानकी रावत थापाको यो यात्रा आज धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ । जानकीजस्तै मेहेनत, सीप र आत्मविश्वासका साथ अघि बढे महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन् । यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनु आजको आवश्यकता हो ।























































































































































