ललितपुर, पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् ।पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् । अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ हजार ३३७ विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका थिए । यस आधारमा सन् २०२५ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ ।
सन् २०२५ मा ४० हजार ४०० नेपाली विद्यार्थी र एक लाख २४ हजार ५५० नेपाली सर्वसाधारणले पाटन दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् । प्रशासकीय प्रमुख लाखेका अनुसार नेपाली पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ । उहाँले भन्नुभयो, “देशको बदलिँदो परिस्थितिका कारण विदेशी पर्यटकको आगमनमा उतारचढाव देखिए पनि नेपाली पर्यटकको सङ्ख्या भने निरन्तर बढिरहेको छ ।”विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण जेनजी आन्दोलन र पाटन दरबार क्षेत्रका सडक सुधारका कार्यहरू रहेको प्रशासकीय प्रमुख लाखेले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)
—


























































































































































