डुम्रे (तनहुँ), तनहुँको व्यास नगरपालिका–१२ गोल्लाका हिमला आलेले लोपोन्मुख ठाडोभाकाको संरक्षणका लागि प्रशिक्षण नै लियो । युट्युबलगायतका सामाजिक सञ्जालमा हेरेर गाउने प्रयास गरे पनि सफल नभएपछि उहाँले अहिले प्रशिक्षण नै लिनुभयो ।
“पहिले लोकभाकाको लय, शब्द, टुक्का कसरी जोड्ने थाहा नै पाएको थिएन । प्रशिक्षणपछि धेरै कुरा सिक्न पाएँ”, आले भन्नुहुन्छ, “प्रशिक्षणले यसलाई संरक्षण र प्रचारप्रसार गर्नेछ । नगरपालिकाले लोपोन्मुख भाकालाई पुस्ता हस्तान्तरण र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।” केही टुक्का जोडेर गाउन जानेको र अवसर पाए प्रयाससँगै पोख्त बन्ने उहाँको विश्वास छ ।
देवघाटका पुष्प थापा मगर पनि आफूले ठाडोभाका सिक्ने अवसर पाएको बताउनुहुन्छ । “ठाडोभाका सिक्ने मन भए पनि यस्तो अवसर पाएको थिएन । प्रशिक्षकले कहिले पनि गाउन नजानेका र केही जानेकालाई समेटेर सिकाउनुभयो । जसले तीन दिनमा गाउने प्रयासमा अधिकांश प्रशिक्षार्थीले स्वर दिएका छन्”, उहाँले भन्नुभयो, “ठाडोभाकाले अवसर सिर्जना गर्नुका साथै पुस्ता हस्तान्तरणमा टेवा पुगेको छ ।”
प्रशिक्षणमा नयाँ पुस्ताको रुपमा व्यास–६ उपल्लो साझाका गौकुमारी गुरुङ पनि हुनुहुन्छ । उहाँले भन्नुभयो, “ठाडोभाका हाम्रो मौलिक भाका हो । सुन्दा सजिलो तथा गाउन गाह्रो छ । अरु गीतभन्दा पृथक रहेको छ । अन्य गीतसङ्गीतमा ट्रयाकमा गाउन सकिन्छ भने ठाडोभाका हाम्रो मौलिक पहिचान हो । पुस्ता हस्तान्तरण हुन जरुरी छ र व्यास नगरपालिकाले गहन रुपमा लिएर प्रशिक्षण दिएको छ ।” उहाँ तालिमले आफ्नो स्वर र आत्मबल दुवै बढाएको बताउनुहुन्छ । “पहिला लय समात्नै गाह्रो लाग्थ्यो”, उहाँले भन्नुभयो, “तर अभ्यासपछि ठाडोभाकाको मौलिक धुन आफ्नै गलाबाट निस्कँदा गर्व लाग्छ, यसले हाम्रो क्षमता वृद्धि मात्र होइन, संस्कृति प्रतिको लगाव पनि बढाएको छ ।”
‘ठाडोभाका’ गण्डकी प्रदेशको मौलिक पहिचान हो । विगतमा प्रख्यात ‘ठाडोभाका’ लोपोन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण तथा पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठानले तीनदिने ठाडोभाका प्रशिक्षण दिएको छ ।
यही पुुस १७ देखि १९ गतेसम्म दमौलीमा ठाडोभाका प्रशिक्षणले पुराना स्वर, लय र अनुभूतिको विरासत नयाँ पुस्तासँग जोड्दै सांस्कृतिक उत्तराधिकारलाई जीवन्त बनाउने अभियानलाई मूर्त रूप दिन सफल भएको छ । व्यास नगर प्रज्ञा–प्रतिष्ठानको आयोजना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहआयोजनामा सञ्चालित प्रशिक्षणमार्फत ६० जना प्रशिक्षित भएका छन् । उनीहरू ठाडोभाकाको स्वरशैली, लय, शब्दको भाव र प्रस्तुति विधिमा गहिरो अभ्यास गरी आफ्नो सांस्कृतिक पहिचानलाई बुझ्न र बोकेर हिँड्न प्रयासमा जुटेका छन् ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान तनहुँका अध्यक्ष विश्वकुमार बढाले यस प्रशिक्षणले पुरानो भाकालाई नयाँ जीवन दिएको बताउनुभयो । “हामीले सानैदेखि सुनेको यो भाका हराउँदै गएको थियो, तर यस प्रशिक्षणले यसको गहिराइ बुझ्न पाएँ”, उहाँले भन्नुभयो, “अब म यो विरासतलाई आफूसँगै नयाँपिँढीलाई प्रेरित गरेको छ र अरूलाई पनि सिकाउनसक्ने आत्मविश्वास पाएको छु ।”
ठाडोभाकाको शुद्धता, भाव र अनुशासनमा दख्खल भएका ठाडोभाका प्रख्यात गायक बुद्धिमान दुरा (धम्पु), गायिका सीतादेवी दुरा, अक्कल विरही गुरुङ र अनिता गुरुङको प्रशिक्षणले सहभागीलाई गीतप्रति प्रेरित गरेको छ । गुरुहरूको प्रत्यक्ष मार्गदर्शनमा प्रशिक्षार्थीले पुराना गीत, नयाँ अभ्यास र सामूहिक प्रस्तुतिमार्फत भाकालाई आत्मसात् गरेका छन् ।
ठाडोभाकाको उद्गमथलो लमजुङ हो । यो भाकाका सर्जक तथा गायक अधिकांश लमजुङ, तनहुँ र गोर्खाका छन् । तनहुँ र लमजुङका गाउँबस्तीमा जन्मिएको यो भाकालाई जोगाएर भेडीखर्के साइँलोले पु¥याएको विरासत आज नयाँ पुस्ताको काँधमा हस्तान्तरण भएको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
“यही पुस्तान्तरणकै प्रक्रियाले ठाडोभाकालाई स्मृतिमा सीमित नराखी व्यवहार र प्रस्तुतिमार्फत समाजमा पुनःस्थापित गर्ने उद्देश्यले नै प्रशिक्षण दिने योजना निर्धारण गरिएको हो”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “पुस्ता हस्तान्तरण र पुराना कला, संस्कार, संस्कृति संरक्षणका निम्ति व्यास नगर प्रज्ञा –प्रतिष्ठानले सभामा छलफलपछि गरिएको निर्णयले उत्साहित बनाएको छ ।” लोपोन्मुख कला, संस्कृतिको संरक्षणमा सबैको सहयोग आवश्यक हुने उहाँको भनाइ छ ।
यस प्रशिक्षणले ६० सहभागीलाई केवल गायक मात्र होइन । नगरपालिकाले संस्कृति बोकेका संवाहक बनाउने लक्ष्य लिएको छ । यही उत्साह, सीप र प्रतिबद्धताले ठाडोभाका अब समयसँगै हराउने होइन, पुस्तौँ पुस्तासम्म बाँचिरहने जीवन्त सांस्कृतिक धरोहर बन्ने अपेक्षा नगरपालिकाले गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































