कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।
रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू जलेर क्षति पुगेको छ। त्यसैगरी सोही स्थान नजिकै भीमबहादुर बुढाको परालखात र अमृत नेपालीको परालखातमा समेत आगो लगाइएको स्थानीयले बताएका छन्।
आगो कसले र किन लगायो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। आगलागीको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यालय बौनिया, लम्कीचुहा नगरपालिकाको दमकल तथा स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। झन्डै दुई घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
पछिल्ला केही वर्षदेखि बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा यस्ता आगजनीका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको स्थानीयहरूको गुनासो छ। यसले जनधनको सुरक्षामा गम्भीर चुनौती थपिएको उनीहरूको भनाइ छ।
स्थानीयवासीहरूले यस्ता घटनाको दोहोरिन नदिन स्थानीय सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था, समाजसेवी तथा बुद्धिजीवीहरूले संयुक्त रूपमा नयाँ योजना बनाएर कडा कदम चाल्न आवश्यक रहेको बताएका छन्।


oplus_32




























































































































































