पाँचथर, माघे सङ्क्रान्तिको अवसरमा फिदिममा ‘स्थानीय (रैथाने)खाना महोत्सव’ आयोजना हुने भएको छ । नेपाल मगर सङ्घ पाँचथरले आगामी माघ १ र २ गते फिदिममा स्थानीय खानाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार र पुस्तान्तरणमा जोड दिने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको हो । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा मगरसहित पाँचथरमा बसोबास रहेका लिम्बू, राई, तामाङ, गुरुङ, नेपाल, सुनुवारलगायत जातजातिका रैथाने खानाका कक्ष राखिने छन् ।
सङ्घ पाँचथरका अध्यक्ष यौवनकुमार थापा मगरका अनुसार महोत्सवमा सबै समुदायले आ–आफ्नो मौलिक परिकारका कक्ष राखी बिक्री गर्नेछन् । रैथाने खानाको कक्षबाट एक समुदायले अर्को समुदायको परिकार, संस्कृति तथा परम्पराबारे बुझ्ने, नयाँ पुस्ताले मौलिक खानाबारे जान्ने, मौलिक परम्पराको संरक्षण, प्रवर्द्धनका साथै पुस्तान्तरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मगर समुदायले माघे सङ्क्रान्तिलाई मुख्य पर्वका रूपमा ‘माघ्या सकराटी’ नामले बर्षेनि विभिन्न कार्यक्रमसहित मनाउने गरेका अध्यक्ष थापाले बताउनुभयो । महोत्सवले समुदाय समुदायबीच एकता, सहकार्य र समन्वयको वातावरण सिर्जना गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।मौलिक रैथाने खानाका परिकार बनाउने क्रम घट्दै जाँदा नयाँ पुस्ता यसबारे अनविज्ञ हुने अवस्था आएकाले महोत्सव आयोजना गर्न लागिएको फिदिम–१ का वडा सदस्य दीपेन्द्र थापा मगरले उल्लेख गर्नुभयो ।
महोत्सवका अवसरमा सांस्कृतिक झाँकीसहित विविध कार्यक्रम आयोजना गरिने मगर सङ्घ पाँचथरले आज फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘रैथाने खानाको प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन’ भन्ने नारासहित हुने महोत्सव निर्माणाधीन फाल्गुनन्द पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रमसँग सहकार्यमा सञ्चालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































