तुलसीपुर (दाङ), माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो ।
माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको छ ।”
आफूहरूले समेत माइतीमा दाउरा लैजाने गरेको भए पनि अहिले त्यो चलन हराएको उहाँको भनाइ छ । अहिले घरघरमा हिटरको समेत प्रयोग हुने तथा पहिलेजस्तो दाउराको समस्या पनि नहुने भएकाले त्यसरी दाउरा लैजाने चलन हराएको हुनसक्ने थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “अहिले घरघरमा हिटर हुन्छ, पहिलेजस्तो समस्या पनि हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले पनि अहिले यो चलन हराएको हुनसक्छ ।” राष्ट्रिय समाचार समिति (रासस)





























































































































































