पाल्हीनन्दन, पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । केही वर्षअघि घरायसी उपभोगका लागि मात्र तरकारी खेती गर्दै आएका किसानहरू अहिले यसलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्न थालेका छन् ।
वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्ने उद्देश्यसहित मौसमी तथा बेमौसी तरकारी खेती सुरु गरेको सरावल गाउँपालिका–५ बडहरा निवासी रामद्रश केवटले बताउनुभयो । सरावल गाउँपालिकाबाट तरकारी खेतीसम्बन्धी आठ दिने तालिम लिएपछि तीन वर्षदेखि व्यावसायिक रूपमा खेती गर्दै आउनुभएको केवटको भनाइ छ ।
आफू तरकारी खेतीमा संलग्न भएकै कारण छोरालाई पनि कृषि विषयमा स्नातक अध्ययन गराएको उहाँले जानकारी दिनुभयो । अन्नबालीको तुलनामा तरकारी खेतीबाट बढी आम्दानी लिन सकिने भएकाले काँक्रो, मुला, भन्टा, साग, काउली, खुर्सानीलगायतका तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । पाँच कठ्ठा जमिनमा भारतबाट ल्याइएको ‘साहु’ जातको टमाटर खेती गरिएको र घरपरिवारसँगै बसेर वार्षिक करिब छ लाख बराबरको आम्दानी गर्दै आएको केवटले भन्नुभयो ।
पाल्हीनन्दन गाउँपालिका–५ का महेन्द्रप्रसाद गुप्ता विगत २० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । अन्नबालीको तुलनामा तरकारी खेतीमा आम्दानी बढी हुने भएकाले यसमै संलग्न भएको उहाँको भनाइ छ । यद्यपि गत वर्ष तरकारीको मूल्य घट्दा करिब डेढ लाखको तरकारी बिक्री गर्दा घाटा बेहोर्नुपरेको गुप्ताले जानकारी दिनुभयो ।
त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–३ निवासी मुकेश हरिजनले रामग्राम नगरपालिका–१७ मा विगत तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । १८ कठ्ठा जमिनमा खेती गरिएको काउलीबाट हालसम्म करिब रु डेढ लाखको बिक्री भइसकेको उहाँले बताउनुभयो ।
रामग्राम नगरपालिका–१७ पिपरहिया र पाल्हीनन्दन गाउँपालिका–५ गेरमी क्षेत्र कृषि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । सरकारले खेतमै विद्युत् पोल गाडेर तार विस्तार गरी कृषि मिटरको व्यवस्था गरेपछि सिँचाइ खर्च सस्तो भएको र थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक तरकारी खेतीप्रति किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउनुभयो । जिल्लामा हाल दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)





























































































































































