भोजपुर, स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको टेम्केमैयुङ गाउँपालिका–७, कोटमा दुईदिने कृषि प्रदर्शनी आयोजना गरिएको छ ।यहाँका कृषिउपजलाई एउटै स्थानमा प्रदर्शनीमार्फत सार्वजनिक गर्दै व्यावसायिक कृषि कर्मतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीमा वडाभित्र उत्पादन हुने कृषिउपजको जानकारी दिने, किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष बालबहादुर खड्काका अनुसार वडामा उत्पादन हुने कृषिउपजको प्रवद्र्धन र बजारीकरण गर्दै किसानलाई हौसला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो । “स्थानीय उत्पादनलाई चिनाउँदै किसानको मेहनतको मूल्य सुनिश्चित गर्न कृषि प्रदर्शनी उपयोगी बनेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार प्रदर्शनीमा सहभागी किसानलाई सम्मानसमेत गरिएको छ ।
प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, अदुवा, मुला, केरा, बेसार, लसुन, कोदो, मकै, धानलगायतका विभिन्न कृषिउपज राखिएका छन् । मेलामा सहभागी किसानले आफ्ना उत्पादनबारे जानकारी दिँदै प्रत्यक्ष बिक्रीसमेत गरेका छन् । कृषि प्रदर्शनीले किसानलाई प्रोत्साहन गर्नुका साथै कृषि कर्ममा निरन्तर लाग्न हौसला प्रदान गर्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले किसान लक्षित तालिम, अनुदान तथा प्रविधि हस्तान्तरणजस्ता कार्यक्रम सञ्चालन गर्दै कृषकलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको छ ।
स्थानीयस्तरमा उत्पादन भएका कृषिउपजलाई आमनागरिकसम्म चिनाउन कृषि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । यस्ता कार्यक्रमले व्यावसायिक रूपमा कृषि कर्ममा संलग्न किसानलाई थप प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउने उहाँको विश्वास छ ।कार्यक्रमले स्थानीय उत्पादनको खपत बढाउन, किसानको आम्दानी वृद्धि गर्न तथा दिगो कृषि विकासमा टेवा पु¥याउने उपाध्यक्ष राईले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































