धनगढी: नेकपा एमालेका तर्फबाट कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगानाले धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउने पहल गर्ने बताएका छन्।
मतदाता भेटघाट कार्यक्रमका क्रममा ढुंगानाले हाल उपमहानगरपालिका रहेको धनगढीलाई डिजिटल प्रविधिसहितको महानगरपालिका बनाउने आफ्नो योजना सार्वजनिक गरेका हुन्। उनले अहिलेको युग डिजिटल युग भएकाले इन्टरनेट र सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ‘डिजिटल धनगढी’ निर्माण गर्न सकिने बताए।
सुदूरपश्चिम प्रदेशमा हाल एक मात्र उपमहानगरपालिका रहेको उल्लेख गर्दै ढुंगानाले अब यसलाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक रहेको बताए। “डिजिटल प्रविधिको विकाससँगै सूचना प्रविधि (आईटी) क्षेत्रबाट रोजगारीका अवसरहरू पनि सिर्जना गर्न सकिन्छ,” उनले भने, “म निर्वाचित भए धनगढीलाई डिजिटल महानगर बनाउने दिशामा ठोस पहल गर्नेछु।”
ढुंगानाले डिजिटल पूर्वाधार विकास, प्रविधिमैत्री सेवा प्रवाह र युवालाई लक्षित रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको बताए।























































































































































