काभ्रेपलाञ्चोक, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१ अस्थायी मतदाता कायम भएका छन् । निर्वाचन आयोगले उक्त निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि-२०८२’ अनुसार जिल्लाबाट मतदाताको नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार निर्माण भएको कार्यविधिअनुसार काभ्रेपलाञ्चोकमा उक्त सङ्ख्यामा अस्थायी मतदाता नामावली सङ्कलित गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका सङ्घसंस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश भएका छन् ।
साथै जेष्ठ नागरिक आश्रमलगायत स्थानमा रहेका नागरिक पनि अस्थायी मतदाताका रूपमा समावेश गराइएको शिवाकोटीले बताउनुभयो । अस्थायी मतदानका लागि मतदानस्थलमा खटिएका प्रहरी, कर्मचारीले सोही स्थानमा मतदान गर्नसक्ने जनाइएको छ । यस्तै कैदीबन्दीले जिल्ला कारागार कार्यालय धुलिखेलमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।
जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् ।यसैबीच जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले यहाँका १३ वटै स्थानीय तह लक्षित प्राथमिक उपचार टोली सञ्चालन गर्ने जनाएका छन् । यसका लागि रेडक्रस जिल्ला शाखाले प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम गरी सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारी गरेको जनाएको छ । यहाँका १३ पालिकामध्ये छ समूह विभाजन गरी विभिन्न छ वटा प्राथमिक उपचार टोली गठन गरिएको रेडक्रसका मन्त्री राजु सिग्देलले जानकारी दिनुभयो ।
सिग्देलका अनुसार जोखिमयुक्त मतदान केन्द्र पहिचान गरी सोहीअनुसार टोली परिचालन गरिनेछ । जिल्लास्थित प्रशासन, सुरक्षाकर्मी तथा स्थानीय स्वास्थ्य केन्द्रसँगको समन्वयमा टोली परिचालन हुने उहाँले बताउनुभयो । जिल्लाभर परिचालित छ टोलीमा ५१ जना सदस्य रहने र ती टोलीले मतदाताका लागि आवश्यक प्राथमिक उपचार सेवा र एम्बुलेन्स सेवा प्रदान गर्नेछन् ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































