कैलाली । अध्यात्म र समाजसेवाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था सन्त निरंकारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना गर्ने भएको छ । नारी शक्तिको माध्यमबाट समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यले सुदूरपश्चिम र मधेस प्रदेशमा चैत्र १३ गते तथा कर्णाली र कोसी प्रदेशमा चैत्र १४ गते नारी सन्त समागम आयोजना गरिने शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
सन्त निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई एक व्यापक आध्यात्मिक विचारधारा हो । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भने,… “यसले संसारका सबै धर्म र आस्थाका मानिसहरूलाई सम्मान गर्दै साकार सद्गुरुको माध्यमबाट परमात्माको जानकारी (ब्रह्म ज्ञान) प्राप्त गर्नु नै मानव जीवनको अन्तिम लक्ष्य रहेको विश्वास राख्दछ । ईश्वर प्राप्तिद्वारा नै विश्व भाइचारा सम्भव छ भन्ने मान्यता राख्ने यो संस्थाले सम्पूर्ण मानव जातिलाई एउटै परिवारको रूपमा व्याख्या गर्दछ ।”
नेपालका चार प्रमुख प्रदेशहरूमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागममा आध्यात्मिक प्रवचन, भजन कीर्तन र नारी सशक्तीकरणका विविध विषयमा चर्चा हुने सन्त निरंकारी मण्डल नेपालका सचिव अनिल महर्जनले बताए । उनका अनुसार यस कार्यक्रमले समाजमा विद्यमान जाति, धर्म र नस्लका सङ्कुचित घेराहरूलाई तोड्दै एउटै ईश्वरका सन्तानका रूपमा मानवतालाई जोड्ने लक्ष्य लिएको छ ।
नारी शक्तिको माध्यमबाट समाजमा शान्ति र एकताको सन्देश फैलाउने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको बौनियामा आयोजना हुने कार्यक्रममा मुख्य आकर्षणका रूपमा ब्रह्म ज्ञान प्रचारक डा. रिता यादवको आगमन हुने आयोजकले जानकारी दिएको छ । आध्यात्मिक विचार धाराको माध्यमबाट मानवलाई संस्कारी र चरित्र वान बनाउन पनि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ ।



























































































































































