घोडाघोडी (कैलाली), अध्यात्म र समाजसेवामा क्रियाशील सन्त निरङ्कारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सङ्घ समागम आयोजना गर्ने भएको छ । नारी शक्तिमार्फत समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यका साथ सुदूरपश्चिम र मधेस प्रदेशमा यही चैत १३ गते तथा कर्णाली र कोशी प्रदेशमा यही चैत १४ गते नारी सन्त समागम आयोजना गरिने कैलालीको बौनियाँमा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सन्त निरङकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभइ एक व्यापक आध्यात्मिक विचारधारा हो । सन्त निरङकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले भन्नुभयो, “यसले संसारका सबै धर्म र आस्थाका मानिसलाई सम्मान गर्दै साकार सद्गुरुको माध्यमबाट परमात्माको जानकारी (ब्रह्मज्ञान) प्राप्त गर्नु नै मानव जीवनको अन्तिम लक्ष्य रहेको विश्वास राख्दछ । ईश्वर प्राप्तिद्वारा नै विश्वभाइचारा सम्भव छ भन्ने मान्यता राख्ने यो संस्थाले सम्पूर्ण मानव जातिलाई एउटै परिवारको रूपमा व्याख्या गर्दछ ।”
चार वटा प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागममा आध्यात्मिक प्रवचन, भजनकीर्तन र नारी सशक्तिकरणका विविध विषयमा चर्चा हुने सन्त निरङकारी मण्डल नेपालका सचिव अनिल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमले समाजमा विद्यमान जाति, धर्म र नस्लका सङ्कुचित घेरालाई तोड्दै एउटै ईश्वरका सन्तानका रूपमा मानवतालाई जोड्ने लक्ष्य लिएको छ ।
नारी शक्तिको माध्यमबाट समाजमा शान्ति र एकताको सन्देश फैलाउने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको बौनियामा आयोजना हुने कार्यक्रममा मुख्य आकर्षणका रुपमा ब्रम्हज्ञान प्रचारक डा रीता यादवको आगमन हुने आयोजकले जानकारी दिएको छ । आध्यात्मिक विचार धाराको माध्यमबाट मानवमा संस्कारी र चरित्रवान बनाउन पनि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ । राष्ट्रिय समाचार समिति(रासस



























































































































































