काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्याएका छन् । उहाँहरूले मतदातालाई धन्यवाद मात्रै दिएका छैनन्, नागरिकका समस्या, गुनासा र सुझाव पनि सङ्कलन गरिरहेको पाइन्छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाको १ नं क्षेत्रमा रास्वपा मधुकुमार चौलागाईं र क्षेत्र नं २ मा बदन भण्डारीले फराकिलो मतान्तरले विजयी हुनुभएको हो । आ–आफ्ना क्षेत्रका नागरिकले अत्यधिक मतले विजयी गराएपछि यतिबेला दुवै सांसद आफ्ना मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गरिरहेका हुन् । “जहाँ पुग्छु, त्यहाँ नागरिकको ठूलो अपेक्षा रहेको पाएँ”, १ नं क्षेत्रका सांसद चौलागाईंले भन्नुभयो । मतदाताहरूले नयाँ–पुराना समस्या खुलेरै आफूसँग राखेको उहाँको भनाइ छ । “म पनि नागरिकको समस्या, गुनासा र सुझावबमोजिम कामका योजना बनाइरहेको छु,” उहाँले भन्नुभयो ।
चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुणराज मुक्तान १० हजार ४५२ मतान्तरले पराजित हुनुभएको हो । भौगोलिक रूपमा अधिकांश क्षेत्र विकटका रूपमा रहेकाले पनि नागरिकको समस्या खानेपानी र सडकको रहेको पाएको चौलागाईं बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काभ्रेली जनताको सुशासन र समृद्धिको चाहनाको प्रतिफलका रूपमा लिएको छु, नागरिकका लागि मैले निकै मेहेनत गर्नुपर्ने देखिन्छ ।” उहाँले भेटघाटका क्रममा अबको समय नागरिकको सेवक बनेर विकास निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । चौँरीदेउराली गाउँपालिका–५ निवासी उहाँ पेसाले अधिवक्ता हुनुहुन्थ्यो ।
यसैगरी, क्षेत्र नं २ का सांसद भण्डारीले आफ्नो क्षेत्रका सबैजसो स्थानीय तहका गाउँ–टोलका मतदातासँग भेटघाटलाई करिब अन्त्यमा पुर्याएको बताउनुहुन्छ । उहाँले पनि जहाँ पुग्दा स्थानीय नागरिकले आफूसँग ठूलो अपेक्षा राखेको बताउनुभयो । “मलाई किसानको समस्या धेरै आएको छ, ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने देख्छु”, उहाँले भन्नुभयो । किसानले समयमा रासायनिक मल नपाएको तथा पाए पनि अपर्याप्त, सिँचाइको समस्या, उत्पादित तरकारीले बजार नपाउँदा निकै दुःख झुल्नुपरेको, दूधले समेत उचित मूल्य नपाउँदा मेहेनत र लागत दुबै जोखिममा परेको गुनासो आफूले पाएको भण्डारीले बताउनुभयो ।
क्षेत्र नं १ को तुलनामा क्षेत्र नं २ मा खेतीयोग्य जमिन धेरै छ । यसकारण पनि किसानका समस्या हुनुमा स्वाभाविक देख्नुहुन्छ, भण्डारी । उहाँ भन्नुहुन्छ, “तर पाइएका समस्या धेरै वर्षदेखिका देखिन्छन्, किसानका समस्या प्राथमिकतामा पार्नुपर्ने देखिन्छ ।” सबैजसो किसान मतदाताको उस्तै समस्या–गुनासा सुनेपछि उहाँले बहुसङ्ख्यक किसानका समस्यामा आफू पनि चिन्तित रहेको बताउनुभयो ।
सांसद भण्डारीले आफ्नो क्षेत्रमा कृषि र पर्यटनको राम्रो सम्भावनाका देखिएकाले यसबाट समग्र जिल्लाले नै राम्रो फाइदा लिनसक्ने अवस्था रहे पनि त्यसको सदुपयोग गर्न नसकेको पाइएकाले आफूले सक्दो पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “सडक, खानेपानी, स्वास्थ्य र शिक्षाका समस्यालाई प्राथमिकता दिएर अघि बढ्नेछु,” उहाँले भन्नुभयो । उहाँले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उक्त क्षेत्रमा प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको थियो । भुम्लु गाउँपालिका–२ सिम्थली निवासी भण्डारी डेढ दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । ३३ वर्षका युवा भण्डारीको कार्यशैली र विकासको गतिलाई हेर्न आतुर रहेको मतदाता बताउँछन् । राष्ट्रिय समाचार समिति (रासस)




























































































































































