जलेश्वर (महोत्तरी), महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा आज आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ अध्ययनसम्बन्धी परामर्श कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो । एलायन्स एसिया नेपालको आयोजना एवं हेल्प लजिस्टिक र वल्र्डभिजन इन्टरनेसनलको सहकार्यमा भएको उक्त कार्यक्रममा जलेश्वर, मटिहान, मनराशिस्वा, लोहारपट्टी नगरपालिका र एकडारा, सोनमा, सम्सी, महोत्तरी तथा पिपरा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जनाकारी दिइएको हो ।
यस्तै, बलवा, भङ्गहा, औरही र रामगोपालपुर गरी चार नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने बर्दिबास र गौशाला नगरपालिका बाढीको कम जोखिममा रहेका छन् । कार्यक्रममा एलायन्स एशिया नेपालका अध्ययन प्रमुख रोहितकुमार यादवले बाढीको बेला पीडितसमक्ष तुरुन्त राहत सामग्रीको आपूर्ति, भण्डारण, व्यवस्थापन र ढुवानीका आवश्यक विकल्पबारे सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा अन्य प्राकृतिक प्रकोपका बेला पनि महोत्तरीमा तुरुन्तै राहत सामग्री पु¥याउन तथा उद्धार कार्यका लागि के कस्ता नीति, नियम र उपाय अपनाउन सकिन्छ भन्नेबारे परामर्श माग गरिएको थियो ।
जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले बाढीबाट सबैभन्दा बढी प्रभावित १५ स्थानीय तहमा विपद् पूर्वतयारीका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाभित्रका उच्च जोखिम भएका स्थानको पहिचान गरी जनचेतनाका साथै विपद् न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति दीपककुमार मिश्र, वल्र्डभिजन इन्टरनेशनलका प्रमील अधिकारी, सेभ द चिल्ड्रेनका दीपक गुरुङ, रतौली युवा क्लबका राजेशकुमार पाण्डेय, नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष कमलेश मण्डललगायतले आफ्ना धारणा राख्नुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)


























































































































































