काभ्रेपलाञ्चोक, पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान गरेको छ ।
एक वर्षे अभियानमा जिल्लाको १३ स्थानीय तहका १३५ वडामा तालिम तीन हजार ३६५ मनसुनजन्य तथा अन्य विपद् सूचक एवं स्वयंसेवक निर्माण गरेको गणले जनाएको छ । यस्तै १७ शैक्षिक संस्थाका एक हजार ३४३ विद्यार्थीलाई विपद् प्रतिकार्यमूलक सचेतना गराइएको छ । स्थानीय तहको समन्वयमा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न सामाजिक संस्थाका प्रतिनिधिलाई यसबारे प्रशिक्षित गराउँदै आइएको छ ।
गणले स्थानीयस्तरमा ‘सुरक्षित समाज’ को उद्देश्यका साथ मनसुन लक्षित तालिमसमेत सञ्चालन गरेको छ । “तालिममा विद्यार्थी, स्वाधीन आमा समूह तथा जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सहभागिता गराउँदै आएका छौँ”, रेग्मीले भन्नुभयो । गणले गत असारमा विपद् प्रतिकार्यस्वरुप उद्धारार्थ नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । उक्त क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।
यस्तै बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्नुका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पु¥याउने क्याम्पलाई जिम्मेवारी तोकिएको गणपछि रेग्मीले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)



























































































































































