झापा । भारतको लाहा कारखानामा सात वर्ष रोजगारी गरेपछि गौरादह नगरपालिका–२ का डम्बर विश्वकर्मालाई आफ्नै देशमा यस्तै उद्यम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो । त्यही चाहनाले २०७५ सालमा विश्वकर्माले स्वदेशमा नै पौरख गर्ने सोचका साथ गौरादह–९ मा अढाई बिगाहा जग्गा भाडामा लिएर लाहाखेती सुरु गर्नुभयो । हाल उहाँले खेती विस्तार गरेर पाँच बिगाहा पु¥याएसँगै निर्मल चप्रा उद्योग सञ्चालन गरिरहनुभएको छ । सरकारी कागजपत्र सिलबन्दी गर्नुपर्दा होस् या घरेलु हातहतियारको बिँड लगाउन नै किन नहोस्, लाहा नभई हुँदैन ।
परम्परागत काममा मात्र नभएर फर्निचरको रङरोगन, सुनका गहना निर्माण, जुत्ताको पोलिसलगायतका काममा लाहाको प्रयोग हुँदै आएको छ । नेपालमा परम्परागत रुपमा पहाडी भागमा कतैकतै सानो मात्रामा लाहाखेती हुँदै आए तापनि व्यावसायिक रुपमा लाहाखेती सुरु गरेको श्रेय ६० वर्षीय विश्वकर्माले नै पाउँदै आउनुभएको छ । “खेती सुरु गर्दा छिमेकीले पनि पत्याएनन्,” उहाँ लाहाखेती भित्र्याउँदाको अनुभव सुनाउँदै भन्नुहुन्छ, “रूखमा फल्छ कि जरामा भनेर मेरो खिल्ली उडाउनेहरु पनि थिए । अरू खेतीपाती गर्न छाडेर बेकारमा लाहाखेती गरेको भनेर मलाई सम्झाउनेहरु अहिलेको प्रगति देखेर अचम्म मान्छन् ।” लाहा एक प्रकारको परजीवी किरा हो । यसले बयर, खयर, पिपल, सेमियलता, रहर, किम्बुलगायतका विभिन्न प्रजातिका बोटबिरुवाको हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्दछ ।
जीवन चक्र पूरा गर्ने क्रममा कच्चा लाहा उत्पादन हुन्छ । विश्वकर्माले सेमियलता नामको बिरुवामा लाहा उत्पादन गर्दै आउनुभएको छ । विश्वकर्माको बैगुनधुरास्थित लाहाखेती टाढाबाट हेर्दा उखुखेती जस्तै देखिन्छ । बाक्लै बिरुवाहरु झाँगिएका छन् । तर खेतीमै पुगेर नियालेर हेर्यो भने हरेक बोटमा लाहाको किरा सलबलाएको प्रस्टै देख्न सकिन्छ । “रोजगारीका क्रममा भारतको लाहा कारखानामा लामो समय काम गरेँ,” उहाँ भन्नुहुन्छ, “लाहाखेती कसरी हुन्छ, कारखानामा प्रशोधन कसरी हुन्छ भन्ने सिकेपछि मलाई आफ्नै देशमा लाहाखेती गर्ने रहर जाग्यो ।
” नेपालमा पहिलो व्यावसायिक लाहाखेती सुरु गर्नुभएको विश्वकर्माले वार्षिक आठदेखि १० हजार किलोग्राम कुसुम लाहा उत्पादन गर्दै आउनुभएको छ । यो उत्पादन स्थानीय बजारमा नै खपत हुने गरेको उहाँले बताउनुभयो । उहाँले रु २० लाखको प्रारम्भिक लगानीमा निर्मल चप्रा उद्योग स्थापना गर्नुभएको थियो । हाल उद्योगले दैनिक ३५ केजी प्रशोधित लाहा उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादनले स्थानीय माग नै धान्न नसकेको अवस्था छ । उद्योगमा सात जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् । डिभिजन वन कार्यालय झापाले स्थापनाकालमा उद्योगलाई रु चार लाख अनुदान दिएको थियो । उहाँले आफू मात्र होइन, झापा र जिल्लाबाहिर धनकुटा, भोजपुर, तेह्रथुमलगायत किसानलाई लाहाखेतीसम्बन्धी प्रशिक्षण दिएर लाहाखेतीको विस्तारमा योगदान पु¥याइरहनुभएको छ ।
हाल झापाको बाहुनडाँगी क्षेत्रमा खेती विस्तार भइरहेको छ । पाँचपोखरी र नवज्योति सामुदायिक वनले व्यावसायिक लाहाखेतीप्रति सुरु गरेका छन् । रङ्गीन र कुसुम गरी दुई किसिमको लाहाखेती हुने गरेको छ । विश्वकर्माले उत्पादन गर्दै आएको कुसुम लाहा बजारमा प्रतिकेजी रु एक हजार मूल्यमा बिक्री हुँदै आएको छ । रङ्गीन लाहा प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ । लाहाखेती हुनुभन्दा पहिले नेपालीहरु भारतमा पूर्ण रुपमा निर्भर थिए । तर अहिले झापा, भोजपुर, तेह्रथुमलगायत जिल्लामा यसको खेती हुन थालेपछि लाहामा अब आत्मनिर्भरतातर्फको यात्रा सुरु भएको छ । नेपालमा बर्सेनि रु २० करोडभन्दा बढी मूल्यको लाहा आयात हुँदै आएको छ । लाहाखेती र यसको विषयमा भन्सार र प्रहरीको को अनभिज्ञताका कारण गत वर्ष भारतबाट यसको बीउ आयात गर्दा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो । “बीउका लागि अहिले पनि भारतमा निर्भर हुनु परेको छ,” उहाँले सुनाउनुभयो, “गत वर्ष छ क्विन्टल लाहाको बीउ ल्याएको थिएँ । भन्सारले पाँच दिनसम्म रोकेर राखिदियो । जबकि ४८ घण्टाभित्र बीउ रूखको हाँगामा लगेर सारिसकेको हुनुपर्छ ।
भन्सारमा नै लाहा किरा मरे । भन्सारले यस्तो सामानको क्वारेन्टिइन सूची नभएको बताएको थियो ।” तराईको १५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको पानी नजम्ने भूभागमा लाहाखेती फस्टाउने उहाँले बताउनुभयो । पछिल्लो समय भारतबाट बीउ आयातमा सकस भएका कारण नेपालमा लाहाखेतीका निम्ति चुनौती थपिएको उहाँको भनाइ छ । बाँके, बर्दिया, हेटौँडा, पोखरालगायतका स्थानबाट कुसुम लाहाखेती अवलोकन गर्न मानिसहरु गौरादह आउने गरेका छन् । विश्वकर्माले नयाँ किसानलाई तालिम दिन सक्ने आफ्नो क्षमता भए पनि लाहाखेतीको विस्तार र रोजगारी सिर्जनाका लागि कसैले रुचि नदेखाएको बताउनुभयो । झापामा खोलाको बगरहरुमा बयरका बोट लगाएर लाहाखेती गर्न सकिने उहाँले सम्भावना व्यक्त गर्नुभएको छ । कनकाई, बिरिङ, निन्दा, मेची, रतुवालगायतका नदीको फराकिलो बगरमा बोटबिरुवा हुर्काएर लाहाखेती गर्न सकिने उहाँको भनाइ छ ।
सामुदायिक वन र प्राकृतिक वन क्षेत्रको खाली स्थानमा समेत लाहाखेतीको सम्भावना छ । स्थानीय तहले आफ्नो क्षेत्रमा यसका लागि सक्रियता देखाउने हो भने नेपाल लाहामा आत्मनिर्भर बन्न सक्छ । लाहा वर्षमा दुई याममा उत्पादन हुने गरेको छ । पहिलो याम असार र साउन भएको जनाउँदै उहाँले दोस्रो याम मङ्सिर र पुस रहेको बताउनुभयो । एकपटक लगाएको लाहाले धेरै वर्षसम्म उत्पादन दिइरहने भएकाले रोजगारीका लागि यसको खेती लाभदायक हुने उहाँ बताउनुहुन्छ । झापा र भोजपुरमा डिभिजन वन कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा विष्णुलाल घिमिरेले लाहाखेतीतर्फ स्थानीय समुदाय र सामुदायिक वनलाई प्रोत्साहित गर्नुभएको थियो । लाहाखेती गर्न इच्छुकहरुका लागि डिभिजन वन कार्यालयले अनुदान सहयोगसमेत दिने गरेको थियो ।
खेतीको विस्तार गरेर नेपाललाई लाहाका लागि आत्मनिर्भर बनाउने अभियानको खाँचो रहेको जनाउँदै घिमिरेले कोशी प्रदेशको चतराको फराकिलो बगरदेखि राजमार्ग उत्तर र साबिक मेची अञ्चलको जिल्लाहरुमा यसको खेती फस्टाउने बताउनुभयो । रुखो र पाखो भन्दै जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै समुदायलाई लाहाखेतीमा आकर्षित गर्नसके मुलुकको बेरोजगारी घटाउन सफलता मिल्ने उहाँको धारणा छ । मधेसको शिरिष, वडहर, कुसुम, खयर, बयरलगायतका कोमल बोक्रा भएका बोटबिरुवामा लाहाको खेती राम्रो हुने उहाँ बताउनुहुन्छ । लाहाको पोथी कीराले निकाल्ने र्याल जस्तो चोपबाट लाहा उत्पादन हुन्छ । मोरङको लेटाङमा खेती विस्तार मोरङ जिल्लामा लाहाखेती विस्तार हुन थालेको छ ।
मोरङको लेटाङ–८ लालझोडास्थित लालहिरा सामुदायिक वनमा लाहाको व्यावसायिक खेती सुरु गरिएको छ । तराईका सामुदायिक वन र बाँझो रहेका बगर खेतहरुमा लाहाखेती विस्तार गर्नसके रोजगारी र आम्दानी बढ्ने सम्भावना देखिएको छ । केही सामुदायिक वनले यसको महत्व बुझ्दै गएका कारण लाहाखेतीमा हात हाल्न थालेका छन् । सामुदायिक वनको आयवृद्धि गर्ने उद्देश्यले दुई वर्षदेखि लाहाखेती भइरहेको लालहिरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नेत्रकुमार राईले बताउनुभयो । उहाँले वनभित्रको दुई बिगाहा जग्गामा सेमियलताका पाँच हजार बिरुवा हुर्काइएको र त्यसमा लाहाका किरा सारिएको जानकारी दिनुभयो । “कम लागतमा बढी आयआर्जन गर्न सकिन्छ भनेर लाहाखेती गरेका हौँ,” उहाँले भन्नुभयो । –––

































































































































































