काठमाडौं, असार २३ । अर्थमन्त्री जनार्दन शर्माले बुधवार पदबाट राजीनामा दिन बाध्य हुनुपर्यो । अर्थमन्त्रीको बागडोर सम्हाल्नुभएका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि त्यस्को ठीक २३ दिनपछि पद छाडन बाध्य हुनुपरेको हो ।
अन्नपुर्ण पोष्टमा कार्यरत पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले अर्थमन्त्री शर्माले मध्यराती कसरी बिचौलियाको प्रवेश गराउनु भयो ? भन्ने तथ्य खोल्नुभएको छ । जेठ ३० गते काफ्ले र थापाले मन्त्री शर्माको बदमासी भण्डाफोर गरे पनि २३ दिन पदमा टाँसिन सके पनि छाडन बाध्य हुनुपरेको छ।
पत्रकार काफ्लेले नेपालको नक्साको बिषयमा पनि काफी अनुसन्धान गरी समाचार प्रस्तुत गर्नुभएको थियो । काफ्ले बिगत २५ बर्षदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । खोज पत्रकार काफ्ले प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । यस्तै पत्रकार थापा १० बर्षदेखि सक्रिय रुपमा खोज पत्रकारिता गर्दै आउनु भएको छ ।
यस्तो थियो खोज समाचार
मध्यराति बजेटमा जब ‘चुकुल’ लाग्यो…
काठमाडौं : जेठ १४ गते। मध्यरात ढल्किँदो थियो। अर्थ मन्त्रालयको अलिकति भागमा झलमल्ल बत्ती बलिरहेकै थियो। अर्थमन्त्री कार्यकक्षमै थिए। अर्को कक्षमा मन्त्रालयका वरिष्ठतम् अधिकारीहरू निसासिँदो व्यस्ततामा थिए। किनकि, भोलिपल्ट अर्थमन्त्रीले वाचन गर्ने बजेट सिध्याउनु थियो।
अर्थमन्त्रीको निर्देशन, देशको आवश्यकता र विभिन्न मन्त्रालयका सिफारिसका आधारमा आय/व्यय विवरण तयार भइरहेको थियो। त्यसकै धपेडी थियो। राति १२:३० अर्थमन्त्रीले बजेट अन्तिम रूप दिइरहेको टिमलाई आफ्नो कार्यकक्षमा बोलाए। टिममा थिए– १. सचिव– मधुकुमार मरासिनी २. सचिव– कृष्णहरि पुष्कर ३. सहसचिव– चक्रबहादुर बुढा (प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा) ४. सहसचिव– भूपाल बराल (प्रमुख, राजस्व व्यवस्थापन महाशाखा) अर्थमन्त्रीसँग एक व्यक्ति थिए।
चारै जना उच्च अर्थ अधिकारी मन्त्रीको कुनै निर्देशनको पर्खाइमा रहे। मन्त्रीले भने कसैलाई फोन गरेर बोलाए, ‘आउने बेला भएन ?’ केही मिनेटमै ती व्यक्ति अर्थमन्त्रीको कक्षमा प्रकट भए। उनी अलि हस्याङफस्याङ हालतमा थिए। मन्त्रालय उच्च स्रोत भन्छ, ‘मन्त्रीले बोलाउनासाथ आउने सर्तमा उनी त्यहीं कतै भएका हुन सक्छन्। भन्नासाथ स्याँस्याँ गर्दै आइपुगे।’ ‘त्यो चुकुल लाउनुहोस्’, अर्थमन्त्रीले पस्दापस्दैका तिनै व्यक्तिलाई अह्राए। र, उनीसँग पहिल्यै रहेका व्यक्तिको छेउमा बस्न इसारा गरे।
अर्थ मन्त्रालयमा वर्षौं सेवा गरी उपल्लो तहमा पुगेका चारै जना ती आगन्तुकलाई हेरेको हेर्यै भए। ‘नमस्कार’, ती व्यक्तिले चारै जनातिर फर्किएर हात जोडे। ‘नमस्कार’, सबैले अभिवादन फर्काए।
तिनलाई उनीहरूले नचिन्ने कुरै थिएन। ती थिए– रघुनाथ घिमिरे। घिमिरे तिनै व्यक्ति थिए, जसले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका थिए। आराम–कुशलता सोधासोध भयो। औपचारिकतास्वरूप।
‘उहाँलाई तपाईंहरूसँग चिनाइरहनुपर्ने कुुरै भएन’, अर्थमन्त्री जनार्दन शर्माले सरकारी वरिष्ठतम् अधिकारीहरूतिर फर्किएर, घिमिरेतिर देखाएर भने। अनि, पहिल्यैदेखि रहेका अर्का व्यक्तिलाई भने चिनाए, ‘उहाँ सीए साप हुनुहुुन्छ।’
दुवै जना यति राति मन्त्रालयमा किन ल्याइए ? उच्च अधिकारीहरू छक्क परे। तर, अर्थमन्त्री शर्माले चारै जनातिर फर्किएर भने, ‘उहाँहरू राजस्व विज्ञ हुनुहुन्छ। राजस्वका दरबारे मेरातर्फबाट उहाँहरूले केही फेरबदल गर्न सक्नुहुन्छ। उहाँहरूले जे–जे मिलाउनुहुन्छ, त्यसमै सही गरेर मकहाँ ल्याउनुहोला।’
स्रोत भन्छ, ‘एक जनाले आनाकानी गर्न खोजे। मन्त्रीले रोके।’
अर्थमन्त्री शर्माले भने, ‘अब समय कम छ। राति अबेला पनि भयो। धेरै सोचविचार गर्ने फुर्सद छैन। उहाँहरू विज्ञ हो। उहाँहरूले जे गर्नुहुन्छ, मेरो अवधारणा त्यही हो। यसमा प्लिज सवाल–जवाफ नगरौं।’ चारै जना उच्च अधिकारी चुपचाप उठेर गए। पछि–पछि लागे अर्थमन्त्रीका दुई जना ‘विज्ञ’। र, कथित विज्ञहरूबाट सुरु भयो बजेटका राजस्व दरमा निर्ममतापूर्वक तलमाथि। विश्लेषण–आकलन गरेर बजेट तयार पारेका विज्ञ अधिकारीहरू ‘आयातित विज्ञ’का सामु निरीह बने। मौन रहे।
















































































































































