 
                        कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रतिपुरमा विप्लव नेतृत्वको नेकपा पार्टीले जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । रतिपुर गाउँमा रहेको शान्ति निम्न माध्यामीक विद्यालयको चार बिघा जमिन भाडामा लिएर पार्टीले रोपाई गरिरहेको छ ।
पार्टीले नवौँ महाधिवेशनबाट आत्म निर्भर पार्टी, आत्म निर्भर कार्यकर्ताको नीति लिएपछि नेकपाका नेता कार्यकर्ताहरू सामूहिक धान खेती गर्न थालेका हुन् । उत्पादित चामल पार्टीलाई चलायमान बनाउन र नेता÷कार्यकर्ताको भरण पोषणका लागि प्रयोग गरिने पार्टीले जनाएको छ ।
धान रोप्ने खेतमा भेटिएका पार्टीका केन्द्रीय सदस्य तथा सेती ब्युरोका इन्चार्ज डबल सिले समाजवाद प्राप्तिका लागि उत्पादन मुख्य आधार भएको बताउँदै पार्टीको नवौँ अधिवेशनबाट पारित नीति अनुरूप नेता कार्यकर्ता र जनता श्रमसँग जोडिएको बताए । उनले पार्टीको नीतिले अन्य बसेर खाने र गफ चुटेर बस्नेहरूलाई पनि श्रमसँग जोड्न बाध्य बनाएको उनको भनाई छ । रतीपुरमा ४ विगाह र वडा नम्बर ८ मा एक विगाह गरी ५ विगाहमा कैलाली पार्टीको सहयोग र सेती ब्युरोको आयोजनामा रोपाई भइरहेको उनले बताए ।
उनले नेपालमा कुनै पनि राजनीतिक पार्टीले सामूहिक कार्य नगरेको बताउँदै आत्मनिर्भरता भन्ने कुरा श्रममा हुने भएकाले नयाँ संस्कृति स्थापित गर्न उत्पादनसँग जोडिएको बताए । प्रायजसो नेपालका संसदीय राजनीतिक दलका नेताहरू ठेक्का पट्टा, योजना ल्याएर भ्रष्टाचारमा लिप्त भइरहने प्रवृत्ति व्याप्त भएको बताए ।
त्यस्तै रोपाइँमा भेटिएका नेकपाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सिले चन्दा उठाएर खाने, काम गर्न डराउने जस्ता आरोप लगाउनेहरूका लागि आत्मनिर्भर पार्टी र आत्म निर्भर कार्यकर्ताको नीतिले गतिलो झापड दिएको बताउँदै अन्य पार्टीहरूले पनि श्रम र उत्पादनको सम्बन्ध जोडन खोजेको बताए ।
वर्तमान दलाल संसदीय व्यवस्था आयातमुखी भएको बताउँदै रेमिट्यान्सको भर पर्ने, सबै कुरामा परनिर्भर मात्र भएकाले नेता कार्यकर्ता उत्पादनसँग जोडने नेकपाको नीति प्रभावकारी बन्दै गएको बताए । उनले अहिलेको सत्ता र व्यवस्था परिवर्तन गर्न आत्मनिर्भर अर्थ प्रणाली अनिवार्य भएको बताउँदै त्यसैको अभ्यासमा पार्टी लागेको जानकारी गराउँदै नेता कार्यकर्ताहरूमा उत्साह थपिएको बताए ।
आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर मुलुकैभरि यो अभियान चलाइएको विप्लव नेतृत्वको नेकपा पार्टीले जनाएको छ । 
  
  
  
  
  
  
  
  o
o
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                

































 
                     
                     
                     
                     
                    
























































































































