सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

कैलाली : सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदैछ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आज शनिबार बाट हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव तयारीको बारेमा जानकारी दिएको हो । महोत्सवको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

 

महोत्सवमा कृषि, जडिवुटी, हस्तकला ,फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सुचना प्रविधि गरि करिब पाँच सय ३१ स्टल रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

 

 

उनले महोत्सव सम्पन्न गर्न करिब तीन करोड लाग्ने अनुमान गरेका छौँ । महोत्सवमा उद्योगी,व्यवसायीको करिब १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले बताए । महोत्सवमा यसपटक राष्ट्रिय कलाकारलाई अगाडि समय दिने जनाइएको छ ।

 

 

सुरक्षाको दृष्टिकोणले पूर्णरुपमा अत्याधुनिक सीसी क्यामराले निरीक्षण गरिने तथा निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बालवालिका र खेलमा रुची भएका दर्शकहरुको रुचीलाई प्राथमिकता दिइ महोत्सवमा नयाँ एक्युरेअम पनि रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।

 

 

 

संघले २१ बुँदे मागसहित सुरु गरेको महोत्सवमा हालसम्म झण्डै ११ माग पूरा भएको तथा पूरा हुने क्रममा रहेकाले १० बुँदे माग सहित १० किलोको माला लगाइने कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले बताए । उनले भने, ‘हामीले सुरुमा २१ बुँदे माग राखेका थियौँ, अहिले ५ वटा माग सम्पन्न भएका छन्, ६ वटा माग आंशिक रुपमा सम्पन्न भएका छन्, १० वटा माग पूरा हुन बाँकी छन्, त्यसैले यस पटक १० बुँदे मागसहित १० किलोको माला लगाउने तयारी छ ।’

 

 

महोत्सवको सुरुवातदेखि नै प्रमुख अतिथिलाई माग बराबरको माला लगाउँदै आएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, सर्वसाधारणलाई रु। १ सय टिकटदर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ । संघले विसं.२०६३ सालदेखि ‘सुदूरपश्चिम महोत्सव’को आयोजना गर्दै आएको छ । यो सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण हो । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने तथा पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा आयोजना हुने जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?