कैलाली । कैलालीको बौनियामा ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ सुरु भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धघाटन गरे ।
आजदेखि पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवले निर्माणाधीन सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना सेती राजमार्ग निर्माणमा राज्यको ध्यानाकर्षण गराउन तथा स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले बताए ।
‘स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा, घोडाघोडी ताल, कर्णाली चिसापानी, राजकाँडा लगायतको विकास, संरक्षण र प्रचारप्रसारलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्नेछ,’ उनले भने, ‘ महोत्सवबाट यस क्षेत्रको आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने र सेती लोकमार्ग निर्माणले तीव्रता पाउने अपेक्षा गरेका छौं ।’
छिमेकी मुलुक भारत र चीनको ताक्लाकोटसम्म जोड्ने त्रिदेशीय महत्वको सेती राजमार्गको पहिचान र निर्माण कार्यलाई तीव्रता दिन महोत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ । हरेक वर्ष सेती राजमार्ग निर्माणका लागि सरकारले बजेट छुट्याए पनि निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । आयोजनालाई गति दिनका लागि दुई भागमा विभाजन गरी निर्माण कार्य भएपनि ढिलासुस्ती भएको हो । सेती राजमार्ग (दक्षिण खण्ड) टिकापुर–लोडे–चैनपुर (२४२ किलोमिटर) र (उत्तर खण्ड) चैनपुर–ताक्लाकोट (११७ किलोमिटर) दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ ।
यसक्षेत्रमा विगत वर्षदेखि सेती लोकमार्ग निर्माणका लागि विभिन्न मेला, महोत्सव, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु हुँदै आएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक स्वारका अनुसार महोत्सवमा ८० स्टल राखिएको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने छन् । महोत्सवलाई डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै विद्यालय स्तरीय नृत्य, रमाइलो मेला, कृषि उत्पादनको प्रदर्शनी हुने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थी र ज्येष्ठ नागरिकलाई रु ७० टिकट दर राखिएको छ भने सर्वसाधारणलाई एक सय राखिएको छ । महोत्सव अवधिभरका लागि सिजनल रु ८ सय निर्धारण गरिएको छ । बर्दगोरिया गाउँपालिका–१ को बसपार्क स्थलमा महोत्सव सञ्चालन भइरहेको हो ।
महोत्सवको उद्घाटन कार्यक्रमको सञ्चालन चर्चित उद्घोषिका तथा गायिका मञ्जु पौडेल र बौनिया बजार व्यवस्थापन समितिका महासचिव राजेश गौतलले गरेका थिए । बौनिया बजार व्यवस्थापन समितिका उपाध्यक्ष देवबहादुर चौधरीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा एनटीबीएस बोर्डिङ स्कुलका बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।


































































































































































































