
कैलाली । कैलालीको घोडाघोडीमा फागुन ९ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ । “कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ हुने भएको हो ।घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा हुन लागेको महोत्सवको जानकारी शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । महोत्सव घोडाघोडी नगरपालिका-१ को मुख्य केन्द्र सुखड बजारस्थित हेलिप्याडमा सञ्चालन हुनेछ ।
विश्व राम सार सूचीमा सूचीकृत घोडाघोडी तालको प्रचार प्रसारका साथै घोडाघोडी क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय र पर्यावरणीय क्षेत्रको व्यापक प्रचार प्रसार तथा कृषि व्यापारको बजारीकरणलाई मुख्य लक्ष्य तथा उद्देश्य राखेर महोत्सव सञ्चालन हुन लागेको जानकारी दिएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको उपस्थिति हुने आयोजकले जनाएको छ ।
यस्तै आयोजकले अपाङ्गता भएका व्यक्ति तथा वृद्ध वृद्धाका लागि टिकट निःशुल्क गरिएको छ भने सामान्य तर १ सय र विद्यार्थीहरूका लागि ८० राखिएको छ । सिजनल टिकटको मूल्य भने ५ सय कायम गरिएको छ । आयोजकले महोत्सवमा कृषिमा आधारित वस्तुहरू, औद्योगिक उपकरण तथा मेसिनरिहरु, अटो मोबाइल, तयारी पोसाक, दैनिक उपभोग्य वस्तुहरू, सूचना प्रविधि, हस्तकलाका वस्तुहरू, फुटवेयर र कस्मेटिक तथा प्लास्टिक सामग्रीहरू प्रदर्शन हुने बताएको छ ।