काठमाडौँ, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनुभएको छ । आज सिंहदरबारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियालले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने निर्णय गरेपछि रुष्ट बनेका किसानहरूसँग उहाँले आज मन्त्रालयमै छलफल गर्दै विगतको सहमतिका आधारमा एक पटकका लागि किसान प्रतिनिधिकै रोहबरमा आयात गर्न दिएको जानकारी दिनुभयो ।
आगामी दिनमा पनि मौरीपालक किसानसँगको छलफलपछि मात्रै निर्णय गर्ने उहाँले आश्वासन दिनुभयो । उहाँले मौरीपालक किसानका समस्या र समाधानका उपाय खोज्न मन्त्रालयले एक समिति बनाएको र समितिले अध्ययन पनि गरिरहेको जानकारी दिनुभयो ।
मौरीपालक किसानहरूले भने महको आयात रोक्नुपर्ने र नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।सो विषयमा मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर उचित निर्णय लिइने पनि बताउनुभयो । उहाँले महको बजारीकरणका समस्या र समाधानका उपायका बारेमा सुझाव दिन पनि अनुरोध गर्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)





























































































































































