कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति लगातार दुईवटा घरगोठमा भएको आगलागी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति करिब १२ बजेतिर समाजसेवी लालसिंह विश्वकर्माको गोठमा आगो लगाउने प्रयास गरेको थियो। घर र गोठ नजिकै रहेको पराल राख्ने स्थानमा अज्ञात समूहले आगो लगाएको आशंका गरिएको छ। स्थानीयवासीको सक्रिय प्रयासपछि केहीबेरमै आगो नियन्त्रणमा लिए पछि गोठ र पराल आगलागी हुनबाट स्थानीयहरूले बचाएका थिए।।
पत्रकार टिकाराम साउँदको घरगोठमा पनि राति १२:३० बजे आगलागी भएको छ। साउँदका अनुसार अज्ञात व्यक्तिहरूले गोठको पराल राख्ने ठाउँमा आगो लगाइदिएका थिए। आगलागीबाट गोठभित्र रहेको टिनको पाता, काठका खामा तथा अन्य सामग्री जलेर क्षति पुगेको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, सशस्त्र प्रहरी बल बौनिया र स्थानीयवासीको संयुक्त टोलीले करिब दुई घण्टापछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। साथै, घोडाघोडी नगरपालिका–सुखडबाट बोलाइएको दमकल टोलीले पनि आगो निभाउन सहयोग पुर्याएको थियो।
आज बिहान मात्र सोही वडाका युवा समाजसेवी रवि कुँवरको गोठमा समेत आगलागी भएको छ। आगलागीमा गोठभित्र रहेका गाई र बाच्छा घाइते भएका छन् भने गोठ र पराल जलेर पूर्ण रूपमा नष्ट भएको कुँवरले बताएका छन्। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।
एकै रातमा बर्दगोरिया–३ का दुई गोठ र एक पराल खातमा निरन्तर आगलागी भएपछि स्थानीयवासीहरू भयभीत बनेका छन्। यस्ता घटना कसले र किन गरिरहेको हो भन्नेबारे सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न स्थानीय नागरिकहरूले माग गरेका छन्।


























































































































































