कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति अज्ञात समूहले राजनीतिक प्रतिशोध साध्दै एमाले पार्टीको विभिन्न कमिटीमा आबद्ध नेता–कार्यकर्ताको घर, गोठ र परालमा आगजनी गरेको नेकपा एमाले बर्दगोरिया गाउँकमिटीले जनाएको छ।
पार्टीका अनुसार २०८२ साल कार्तिक २७ गते राति करिब १२ बजेदेखि बिहान ४ बजेसम्म फरक–फरक समयमा भएको आगजनीका घटनाले ठूलो क्षति पुर्याएको छ। आगजनीबाट बर्दगोरिया गाउँकमिटी उपसचिव रवि कुँवर, गाउँकमिटी सदस्य लालसिंह विक र प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य टीकाराम साउँदको घर, गोठ र पराल जलेर नष्ट भएका छन्। साथै घरमा रहेका सर–सामान र पशु चौपाया समेत क्षतिग्रस्त भएका छन्।
एमाले बर्दगोरिया गाउँकमिटीले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको घोर भर्त्सना गर्दै यसमा संलग्न दोषीहरूको तात्कालिक खोजी गरी कानुन अनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
गाउँकमिटीका अध्यक्ष मधुकर सिजापती मगरले यस्तो राजनीतिक प्रतिशोधपूर्ण कार्यले शान्ति–सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताउँदै दोषी जो कोही भए पनि उन्मुक्ति नपाउनुपर्नेमा जोड दिएका छन्। प्रेस विज्ञप्ति





















































































































































