कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका बौनिया बजारबाट पहिलोपटक मोहन्याल गाउँपालिकाको खिमडीसम्म कर्णाली रिभर साइड बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेति राजमार्गको नियमित यातायात सेवा प्रारम्भसँगै स्थानीयवासीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रम बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वारको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बौनिया बजारको अध्यक्ष रहँदा तल्लापानी र फलेबिसौना सम्म बस पुर्याउने योजना कसरी बनेको थियो भन्ने स्मरण गरे। सडक विस्तारका बेला कुनै संघ–संस्था वा दाता नभएकाले व्यापारीहरूले रु. ५०० देखि १,००० सम्म रकम उठाएर, बर्दगोरिया–२ र ३ का स्थानीय नागरिकसँग सरसहयोग लिएर १७ किलोमिटर सडक निर्माण गरिएको उनले बताए।
सेति राजमार्ग निर्माणका लागि विभिन्न चरणमा दबाब दिने क्रममा अर्थमन्त्री वर्षमान पुन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चस्तरीय व्यक्तिहरूलाई महोत्सवमार्फत बौनिया बोलाइएको स्मरण गर्दै उनले चोसेकाँडामा रोकिएको सडक वन कार्यालय, कर्मचारी तथा जनप्रतिनिधिहरूबीच समन्वय गरेर खोलिएको जानकारी दिए। अध्यक्ष कुँवरले सेति राजमार्गको काम छिटो गर्न स्थानीय सरकार निरन्तर सक्रिय रहेको र बस सञ्चालनमा सरकारबाट आवश्यक सबै सहयोग पुर्याइने बताए।
विशिष्ट अतिथि मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय हिमशिखरले बस सेवा मोहन्यालवासीकै पुरानो सपना रहेको उल्लेख गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए। बस सञ्चालकलाई उचित भाडा कायम गर्न र क्षमताभन्दा बढी यात्रु नबोक्न अनुरोध गर्दै उनले यो सेवा मोहन्याल र आसपासका पहाडी भू–भागका नागरिकका लागि ठूलो राहत हुने बताए।
कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ, प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष मिथुन गौतम, वडा नं.२ का अध्यक्ष गोविन्द बिक, रिभरसाइड यातायातका प्रतिनिधि बलबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख डम्बर बिष्ट, व्यवसायी, सामाजिक अगुवाहरू तथा गाडी सञ्चालक पवन रावललगायतको उपस्थिति थियो।
पहिलोपटक बौनिया बजारदेखि मोहन्याल गाउँपालिकाको कार्यालय खिमडीसम्म बस सेवा सञ्चालनमा आएपछि मोहन्याल क्षेत्र, सुदूरपश्चिमका पूर्वी पहाडी इलाका तथा कर्णाली प्रदेशका केही जिल्लाका जनताले यातायातमा सहजता र सुगमता पाउने विश्वास गरिएको छ।
स्थानीय विकास र यातायात पहुँच विस्तारतर्फको यो कदम क्षेत्रकै लागि प्रेरणादायी मानिएको छ।























































































































































