धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।
संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले नियतवश धक्कामुक्की गरेको दृश्य सार्वजनिक भिडियोमा देखिएको छ। यो घटना सामान्य दुर्व्यवहार नभई महिला पत्रकारमाथि स्पष्ट यौनिक हिंसाको प्रयास भएको संघले ठहर गरेको छ।
संघले नेपालका संविधानको धारा १७ (अभिव्यक्ति स्वतन्त्रता), धारा १९ (सञ्चार तथा प्रेस स्वतन्त्रता), र धारा ३८ (महिलामाथि हुने हिंसाविरुद्धको हक) उल्लङ्घन भएको बताएको छ। पेशागत कर्तव्य निर्वाह गरिरहेका पत्रकारमाथि गरिएको यस्तो व्यवहार संवैधानिक अधिकारको ठाडो उल्लङ्घन रहेको संघको भनाइ छ।
पत्रकारको सुरक्षा सुनिश्चित गर्नु नेपाल सरकारको संवैधानिक दायित्व भएको संघले स्मरण गराउँदै घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी पक्राउ गर्न र कानुनअनुसार कारबाही गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग जोडदार माग गरेको छ। साथै यस्ता घटना दोहोरिन नदिन स्पष्ट सुरक्षा व्यवस्था लागू गरी महिला पत्रकारले निडर र सम्मानजनक रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
संघले पत्रकारको सुरक्षा, सम्मान र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रेस विज्ञप्ति सहित
















































































































































