कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन प्राविधिक मानबहादुर चौधरी तथा गतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश घर्ती मगर रहनुभएको थियो।
कार्यक्रममा मोहन्याल माविका प्रधानाध्यापक मानबहादुर पुन मगर, कोपिला सामुदायिक वन उपभोक्ता समूहका सहसचिव डम्बर रोकामगर, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर तारामी मगर, नेपाली कांग्रेस मंगलसेन नगरपालिका अछामका सभापति पूर्णबहादुर बिष्ट, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी लालबहादुर बुढा, नमुना आमा समूह अध्यक्ष पार्वती बुढा, जनचेतना लघु उद्यमी अध्यक्ष सम्झना बुढा, चन्द्रसूर्य युवा क्लब अध्यक्ष सन्तोष जोल्मी मगर, समाजसेवी तथा बुद्धिजीवी मानबहादुर बुढा, नन्दबहादुर बस्नेत, डोटी जिल्लाका समाजसेवी मोती सिंह साउद र ज्येष्ठ नागरिक वैवृद्ध डम्बरबहादुर ओलीलगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष बुढाले सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनमा सबै उपभोक्ताहरूको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै वन जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले दानवीर सामुदायिक वन उपभोक्ता समूहले यसअघिदेखि नै गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै बाटो निर्माण तथा विस्तार, सिँचाइ र खानेपानी आयोजना, विपन्न परिवारलाई बाख्रा वितरण, स्वास्थ्य भवन निर्माण, विद्यालयलाई आर्थिक सहयोग, विभिन्न सीपमूलक तालिम सञ्चालन तथा गरिबमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डम्बरबहादुर बोहराले गर्नुभएको थियो। आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन कार्यालय सचिव देवबहादुर बोहराले प्रस्तुत गर्दै कुल ४७ लाख ५३ हजार ६ सय ४९ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्नुभयो।
साधारण सभाको सञ्चालन पत्रकार गोविन्द बुढा क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हाल दानवीर सामुदायिक वन उपभोक्ता समूहमा १ सय ३६ जना उपभोक्ता आबद्ध रहेका छन्।













































































































































