नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा गाउँपालिका तेस्रो सुस्ता विद्यालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि प्रारम्भ भएको छ।सुस्ता गाउँपालिका ४ नर्सही स्थित सहिद विष्णु पाण्डे स्मृति आधारभूत विद्यालयको प्राङ्गणमा खेलकुद प्रतियोगिता प्रारम्भ भएको हो। सुस्ता गाउँपालिकाको आयोजनामा पालिका स्तरीय खेलकुद प्रतियोगितामा सुस्ता गाउँपालिका अन्तर्गतका सामुदायिक,निजी र मदर्सा गरि कुल ३१ विद्यालयको सहभागीता रहेको थियो।
पालिका अन्तर्गतको विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री देवकरण कलवारले विद्यालयका बालबालिकाहरुलाई विद्यालय शिक्षाका साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट पनि शारीरिक विकास गर्न सकिने बताउदै उहाँले लुम्बिनी प्रदेश अन्तर्गतका नदीनालालाई व्यवस्थित गरि वन पैदावरलाई उचित व्यवस्थापन गरिने धारणा राख्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले विद्यार्थीहरुलाई विद्यालय स्तरदेखी नै खेलकुद सीपको विकास गरि भविष्यमा असल खेलाडी बनेर देश,विदेशमा आफ्नो र राष्ट्रको पहिचान बढाउन सकिने विचार व्यक्त गर्नुभएको थियो।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव,सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरी, सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव, त्रिभुवन मा.वि. बेलाटारीका प्र.अ. नारद ठाकुर,पुर्व शिक्षिका कविता यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
सो अवसरमा सहिद विष्णु पाण्डे स्मृति आधारभूत विद्यालयका प्र.अ. कमलेश प्रसाद गुप्ताले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभयो।कार्यक्रममा सुस्ता गाउँपालिकाबाट सेवा निवृत्त हुनुभएका सामुदायिक विद्यालयका ५ शिक्षकहरुलाई कदरपत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालक एवं शिक्षक खेमराज सुवेदीले जानकारी दिनुभयो। २०६३ सालमा स्थापना भएको सहिद विष्णु पाण्डे स्मृति आधारभूत विद्यालय को प्राङ्गणमा सञ्चालन भैरहेको प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको थियो।
खेल प्रतियोगिताको उद्घाटन समारोहमा आयोजकले रेफ्री र अफिसियलहरुलाई पालन गर्नुपर्ने जिम्मेवारी तथा आचारसंहिता सहितको सपथ पनि खुवाइएको आयोजकले बताएको छ।





























































































































































