कञ्चनपुर, यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो ।
हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ जना दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई समेटेर अतिरिक्त कक्षा सञ्चालन गरिरहेको वडाअध्यक्ष लालबहादुर ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावक मजदुरीका लागि अन्यत्र जाने र बालबालिकालाई पनि सँगै लैजाने गरेका कारण धेरै बालबालिकाले विद्यालय छाड्ने अवस्था छ ।
केही महिना मजदुरी गरेर फर्किएपछि बालबालिकाको सिकाइ सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । “अभिभावक मजदुरीका लागि बाहिर जाँदा बालबालिका पनि सँगै जाने र विद्यालय छोड्ने अवस्था छ । पुनः विद्यालयमा फर्किंदा कोर्स पढाइ धेरै अगाडि बढिसकेको हुन्थ्यो । हामीले त्यसको पूर्ति गर्न अतिरिक्त कक्षा सञ्चालन गरेका हौँ”, वडाअध्यक्ष ऐरले भन्नुभयो ।
हाल कक्षा ३ सम्मका बालबालिकाका लागि विद्यालयका दक्ष शिक्षकको व्यवस्था गरी पठनपाठन गरिएको र आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई समेटेर कार्यक्रम विस्तार गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ । हाल अतिरिक्त कक्षा सञ्चालनका लागि वडा कार्यालयले रु चार लाख विनियोजन गरेको छ ।
दलित समुदायका बालबालिका विद्यालय समयमा नियमित र त्यसपछि अतिरिक्त कक्षामा थप अध्ययन गर्ने व्यवस्था गरिएको छ । त्यस्ता बालबालिकाका लागि वडाबाट वर्षभरि पुग्ने शैक्षिक सामग्री, अङ्ग्रेजी विषयका पाठ्यपुस्तक, झोला, पोसाक, ट्र्याकसुट, जुत्ता, मोजालगायत सामग्री उपलब्ध गराइएको वडाअध्यक्ष ऐरले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक भरतबहादुर ऐरका अनुसार बालबालिकालाई दुईवटा कक्षामा विभाजन गरेर पठनपाठन गरिँदै आएको छ । अतिरिक्त कक्षा सञ्चालन भएपछि बालबालिकाको पढाइमा उल्लेखनीय सुधार देखिएको उहाँले बताउनुभयो । “पहिले धेरै बालबालिका पढाइमा कमजोर थिए, विद्यालय पनि नियमित आउँदैनथे”, ऐरले भन्नुभयो, “हाल बालबालिका नियमित विद्यालय आउन थालेका छन् र पढाइमा पनि सुधार भइरहेको छ ।”
यस कार्यक्रमले विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउन पनि सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ । वडा कार्यालयले आगामी दिनमा अझ प्रभावकारी रूपमा दलित तथा अतिविपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने योजना बनाएको छ । विद्यालयमा छात्रावास निर्माण कार्य पूरा भएपछि अतिविपन्न दलित बालबालिकालाई छनोट गरी आवासीय रूपमा राखेर पढाइ गराउने योजना रहेको वडाअध्यक्ष ऐरले बताउनुभयो ।
“छात्रावास बनेपछि टाढाका र अतिविपन्न परिवारका बालबालिकालाई आवासीय रूपमा राखेर पढाउने योजना छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले विपन्न बालबालिकाको शिक्षामा पहुँच पु¥याउन अभिभावक बनेर काम गरिरहेको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
वडास्तरबाट लक्षित वर्गका बालबालिकाका लागि सञ्चालन गरिएको यस्तो कार्यक्रमले शिक्षामा पहुँच विस्तार, विद्यालय छाड्ने दर घटाउने र शैक्षिक गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले स्थानीय अभिभावक पनि खुसी छन् ।
“यस कार्यक्रमले विशेषगरी दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइएको छ”, दलित अधिकारकर्मी सिवी लुहारले भन्नुभयो, “कक्षा अनुगमन गर्दा बालबालिकाको नियमितता, पढाइप्रति रुचि र शैक्षिक उपलब्धिमा सुधार पाएका छौँ ।”राष्ट्रिय समाचार समिति (रासस)
























































































































































