
म्याग्दी (बेनी), दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले दसैँ–तिहार लगायतका पर्वलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेश पुगेकाहरु गाउँ फर्कन थालेका छन् । अधिकांश समय सुनसान भएका गाउँघरमा दसैँको आगमनसँगै उल्लास छाउन थालेको रघुगङ्गा गाउँपालिका–७ का चिमखोलाका कायाम रोकाले बताउनुभयो । प्रवासमा रहेकाले चाडपर्व मनाउन छुट्टी लिएर आउने र विद्यालय तथा कार्यालयमा बिदा हुने भएकाले अन्य समयको तुलनामा दसैँ–तिहारको समयमा गाउँघरमा जमघट बढी हुने उहाँको भनाइ छ । रोजगार, शिक्षालगायतका लागि युवा विदेश र सहरी क्षेत्रमा जाने प्रचलनका कारण पछिल्लो समय म्याग्दीका ग्रामीण भेगमा बुढापाका मात्रै बसोबास गर्छन् ।
चाडपर्व मनाउन वर्षमा कम्तीमा एक पटक गाउँ फर्कने भएकाले यो समय गाउँघर गुञ्जायमान हुने गर्छ । चाडपर्वलाई लक्षित गरेर गाउँघर सरसफाइले चिटिक्क परेका छन् । परम्परागत ढुङ्गे घरमा कमेरो र रातो माटोले पोतिएका छन् भने ढलान, प्लास्टर गरी निर्माण भएका पक्की घरमा रङ्गरोगन गरिएका छन् । चाडपर्व मनाउन युरोपियन मुलुकबाट बिदामा घर आउनुभएका धवलागिरि गाउँपालिका–६ का खड्क पुनले लामो समयपछि गाउँ फर्कदा चाडपर्वको रौनकले प्रवासका दुःख र अत्यासलाई मेटाइदिएको बताउनुभयो । “प्रवासबाट आएको एक साता भयो, बजारमा किनमेल गरेर बाल बच्चासहित हामी गाउँ आइपुगेका छौँ, हरियाली वातावरण, धान र कोदोका फाँटले मन प्रफुल्ल बनेका छन्, गाउँघर यो समयमा धेरै नै सुन्दर बनेका छन्”, उहाँले भन्नुभयो ।
जिल्लाका अधिकांश गाउँमा वर्खायामको हिलो र झाडी पन्छ्याएर गोरटो बाटोलाई मर्मत गरिएको छ । परम्परादेखि नै चाडपर्वको समयमा झारा (श्रमदान) गरेर बाटो सरसफाइ र मर्मत गर्ने श्रम संस्कृति अझै यथावत रहेको छ । सडकमार्गलाई सञ्चालन गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्ने गरे पनि गोरेटो बाटो भने श्रमदानबाटै सरसफाइ गरिँदै आएको छ । हरेक घरबाट सहभागिता हुने गरी चाडपर्वको पूर्वसन्ध्यामा एक गाउँबाट अर्को गाउँ जाने र गाउँभित्रका गोरेटो बाटो सरसफाइ गरिएको रघुगङ्गा–३ दुलेपानीका युवा होम परियारले बताउनुभयो । “वर्खायाममा झाडीले बाटो नै ढाकिएका थिए, श्रमदानबाट सरसफाइ गरेपछि आवतजावतमा सहज हुने भएको छ”, परियारले भन्नुभयो । पछिल्लो समय युवा विदेशमा जाने प्रचलनका कारण श्रमदानमा महिलाको सहभागिता बढी हुने गरेको छ ।
दसैँलाई लक्षित गरी गाउँघरमा परम्परागत मेला आयोजना हुने गर्छन् । परम्परागत मनोरञ्जनको माध्यम बनेको मेला पर्वलाई पछिल्लो समय खेलकुद प्रतिस्पर्धा र कला संस्कृतिको प्रदर्शन गर्ने परम्परा सुरु भएको छ । दसँै तिहारको अवसरमा यहाँका दर्जनौँ गाउँ बस्तीमा मेला पर्व आयोजना भइरहेका छन् । परम्परागत मेला पर्वको निरन्तरता पाउनु सकारात्मक पक्ष भए पनि ती नै मेलापर्वबाट शान्ति सुरक्षामा असर पुग्ने गतिविधि हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।
जिल्लामा हुने कतिपय अपराधिक घटनाको सुरुवात मेला पर्वमा युवामा हुने मनमुटाम र झैझगडाबाट सुरुवात भएको पाइएकाले निश्चित अवधिका लागि अनुमति लिएर शान्ति सुरक्षालाई असर नपर्ने गरी मौलिककला संस्कृतिको संरक्षणमा योगदान पुग्ने गरी मेला सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । चाड पर्वको समयमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी गरेको जनाएको छ ।